शोधानान्तर स्थिति २ खर्ब १० अर्ब बढी बचतमा,मंसिरमा मुद्रास्फीति ४.९५ प्रतिशत कायम

शोधानान्तर स्थिति २ खर्ब १० अर्ब बढी बचतमा,मंसिरमा मुद्रास्फीति ४.९५ प्रतिशत कायम

काठमाडौँ : चालु आर्थिक वर्षको पाँच (मंसिर) महिनाको अवधिमा अधिकांश आर्थिक सूचक सकारात्मक देखिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार शोधानान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ। मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ। जसले गर्दा शोधनान्तर स्थिति बचतमा गएको हो।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत छ। यस अवधिमा आयात ३.४, निर्यात ६.१ र कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको छ। विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव १ महिनाको वस्तु आयात र ११ .८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

पाँच महिनामाको अवधिमा चालू पुँजी खर्च ४ खर्ब ५३ अर्ब र राजस्व परिचालन ३ अर्ब ६३ अर्ब ४३ करोड छ। यस अवधिमा विस्तृत मुद्राप्रदाय ४ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४.४ प्रतिशतले बढेको हो। बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.६ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ। यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब ६ करोडले बढेको छ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.५ प्रतिशत छ ।

पुष २६, २०८० बिहीबार २०:२५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।