विनिमय सञ्चिति बढेर १७ खर्ब ६७ अर्ब पुग्यो
काठमाडौँ : चालु आर्थिक वर्षको ५ महिना अवधिमा विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेको छ। २०८० मंसिर मसान्तसम्म विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
२०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा १३ अर्ब ३१ करोड डलर पुगेको विवरणमा उल्लेख छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकको सञ्चिति १५ खर्ब ५६ अर्ब २५ करोड, बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १० अर्ब ७९ करोड कायम भएको बैंकले जानकारी दिएको छ। २०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ।
२०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३२.८ प्रतिशत, कुल आयातसँगको अनुपात ९८.३ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगका अनुपात २७.५ प्रतिशत पुगेको विवरणमा उल्लेख छ।
पुष २६, २०८० बिहीबार १९:२१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।