रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतको आदेश​​​​​​​

रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतको आदेश​​​​​​​

 

काठमाडौं : जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

हिजो राति काठमाडौंबाट सर्लाही पुर्याएर आजै जिल्ला अदालतमा पेस गरिएका बम्जनलाई जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तदार सदन अधिकारीले जानकारी दिए।

यौन शोषण, व्यक्ति बेपत्ता र विदेशी मुद्रा अपचलनको आरोपमा मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो।

विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायीलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई गएराती नै सडक मार्गबाट सर्लाही पुर्याइएको थियो।

लामो समयदेखि फरार रहेका बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध त्यहाँ बाट पक्राउ पुर्जी जारी भएको थियो। फरार बम्जनलाई सिआइबीका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले पुस २४ गते मंगलबार पक्राउ गरेको हो। प्रहरी घर पुग्दा चार तलाबाट हाम्फालेर भाग्न खोजेका थिए।

उनलाई सीआइबीले हिजो सार्वजनिक गरेको थियो। साथै, प्रहरीले उनको साथबाट ३ करोड बढीको नेपाली तथा विदेशी मुद्रा र अन्य जिन्सी सामग्री समेत बरामद गरेको थियो।

पुष २६, २०८० बिहीबार १८:४१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।