नेपाल-बेलायत मैत्रीसम्बन्धको ६५ औं वार्षिकोत्सवमा शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी हुँदै

नेपाल-बेलायत मैत्रीसम्बन्धको ६५ औं वार्षिकोत्सवमा शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी हुँदै

 

काठमाडौं : ब्रिटिस काउन्सिल नेपालले बेलायत र नेपालबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको उद्देश्यले एक प्रदर्शनी गर्दैछ।

काउन्सिलको मुख्य कार्यालय लण्डनमा हुने प्रदर्शनी सर्वसाधारणका लागि अप्रिल १ सम्म खुला रहनेछ।

प्रदर्शनीले बेलायत-नेपाल मैत्रीसन्धिको सहकार्य, साझेदारी र प्रभावका ६५ औं वर्ष स्मरण गर्ने बताइएको छ।

नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै भनेका छन्, ‘बेलायत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको छ।’

त्यस्तै, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भने, ‘यस प्रदर्शनीले नेपाल र बेलायतबीचको सांस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ। विगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरूलाई संकेत गर्दछ।’

बेलायत र नेपाल बीच कूटनीतिक सम्बन्धको एक अंशका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो।

ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक, शाहिदा म्याकडुगले ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा सांस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोडेको बताइन्।

पुष २६, २०८० बिहीबार १७:३६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।