एकलौटी सञ्चालन गर्न खोजेको भन्दै नाडाका आठ सदस्यद्वारा राजीनामा दिने चेतावनी
काठमाडौं : सर्वसहमतिबाट पदाधिकारी चयन गरेको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)मा विवाद उत्पन्न भएको छ।
नाडाको अध्यक्ष चौधरी समूहका करण चौधरीले एकलौटी ढंगले संस्था चलाउन लागेको भन्दै आकाश गोल्छासहित ८ सदस्यले राजीनामाको चेतावनी दिएका हुन्।
अध्यक्ष चौधरीले आफ्नो अनुकूल काम गर्न लागेपछि त्यसो नगर्न भन्दा नमानेको राजीनामा दिने चेतावनी दिएका नाडा सदस्य आकाश गोल्छाले जानकारी दिए।
उनले भने ‘हामीलाई एकदम दुःख लागेको छ। काम गर्दै जाँदा केही कुरा नमिल्नु ठूलो कुरा भएन तर धेरै कुरामा हामीबीच सहमति छैन।’
सर्वसहमति गर्दा आकाश समूह र करण समूहबाट ८/८ जना चयन गर्ने भन्ने सहमति थियो। मनोनित गर्ने विषयमा करण पक्षबाट ३ र आकाश पक्षबाट २ जना मनोनयन गर्ने कुरा थियो।
‘हामीहरूको कुरा नमिलेको मनोनित मै हो। सहमतिको दिनसम्म सहमति अनुसार नै मनोनित गर्ने भन्ने थियो। अहिले विभिन्न बहाना बनाएर हामीले मनोनित गर्न भनेको सदस्यहरूलाई हटाइएको छ। अझै कार्यसमिति सदस्यमा पनि १५/१५ जना पदाधिकारी चयन गर्ने कुरा थियो, त्यो पनि गरेनन्। छलफल गरेर अघि बढ्नुपर्ने विषयमा पनि उहाँ (करण चौधरी) पन्छिनु भयो,’ उनले भने।
नाडाको विधान अनुसार दुई पाँग्रे, चार पाँग्रे, स्पेयर पार्टस् जस्ता समितिहरू छन्। तिनै समितिको सभापति लगायतको पदाधिकारी छनोटलाई लिएर विवाद उत्पन्न भएको हो।
करण चौधरीले स्पेयर पार्टस् समितिमा सुनिल रिजालको ठाउँमा पंकज अग्रवाल ल्याउने भएपछि आकाश समूहले विरोध गरेका थिए। यसै विषयलाई लिएर आकाश समूहका ८ सदस्यले राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।
नाडाको सचिव बाहेकका पदाधिकारी सर्वसहमतिमै चयन भएको थियो।
पुष २६, २०८० बिहीबार १६:३०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।