जलविद्युत उपसमूहको परिसूचकले धान्यो शेयर, ०.६२ अंक घटेर बन्द

जलविद्युत उपसमूहको परिसूचकले धान्यो शेयर, ०.६२ अंक घटेर बन्द

काठमाडौँ : साताको अन्तिम बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आएर बन्द भएको छ। अघिल्ला तीन दिनको कारोबारमा नेप्से बढेर बन्द भएको थियो।

बिहीबार नेप्से परिसूचक ०.६२ अंक घटेर २०८८.९९ बिन्दुमा झरेर बन्द भयो। सेन्सेटिभ इण्डेक्स २.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घट्यो। फ्लोट इण्डेक्स ०.०३ अंक बढेको छ।

बिहीबार ३०७ स्टकको ७९ हजार ३८९ पटकको कारोबारमा ४ अर्ब ३० करोड ७७ लाख रूपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार कित्ता शेयर कारोबार भयो। यो बुधबारको भन्दा कम हो।

बिहीबार आठ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मीड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फन्ड १ को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

नेपाल एसबिआई बैंक ऋणपत्रको मूल्य सर्वाधिक ९.६० प्रतिशत घट्यो। कारोबार रकमका आधारमा बिहीबार हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो। सो बैंकको २३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। बिहीबार नेपाल रिइन्स्योरेन्सको साढे १९ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भयो। सोनापुर मिनरल्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्यो भने ९ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढ्यो। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घट्यो।

पुष २६, २०८० बिहीबार १६:२७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।