रास्वपा र राप्रपाको एकै स्वर- संक्रमणकालीन न्यायको मुद्दा सहमतिबाटै टुंग्याऔँ

रास्वपा र राप्रपाको एकै स्वर- संक्रमणकालीन न्यायको मुद्दा सहमतिबाटै टुंग्याऔँ

 

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धित बिधयेक सहमतिबाटै टुंग्याउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकै मत राखेका छन्।

आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू सहमतिको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउनुपर्ने बताए।

उनले अप्ठ्यारा महसुस गरिएको ठाउँमा उदारता देखाएर भए पनि विधेयक टुंग्याउनुपर्ने बताए।

उनले भने, ‘हामी धेरै नजिक भइसकेका छौँ। यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ। बाँकी जो छन् यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ। यसमा संक्रमणकालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ। संक्रमणकालीन न्याय जिम्मेवारी बोध र उदारताबिना सम्भव छैन। सीमितता हुनु भएन।’

त्यस्तै, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए।

उनले विधेयकलाई पार्टीगत रूपमा मात्रै लिएर बुझ्न नहुने बताए।

प्रधानले भने, ‘सहमतिबाट टुंगो लगाऔँ। प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ। पार्टीका सिद्धान्त फरकफरक हुन्छन्। त्योभन्दा माथि उठेर गर्नुपर्छ। अझै पनि दुई महिना थपौँ। टुंग्याऔँ।’

सांसद प्रधानले अझै केही समय थप गरेर सहमतिबाटै विधेयक टुंग्याउनुपर्ने बताए।

पुष २६, २०८० बिहीबार १५:२५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।