रामबहादुर बम्जनलाई आजै अदालत पेस गरिने

रामबहादुर बम्जनलाई आजै अदालत पेस गरिने

काठमाडौं : सर्लाही पुर्याइएका रामबहादुर बम्जनलाई प्रहरीले आज नै जिल्ला अदालतमा पेस गर्ने भएको छ।

आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोपमा  पक्राउ परेका बम्जनलाई हिजो राति कडा सुरक्षाका बीच सडक मार्ग हुँदै सर्लाही पुर्याइएको हो।

बम्जनलाई विमानमार्फत सर्लाही लगिने तयारी गरिए पनि मौसम प्रतिकूल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर त्यहाँ लगिएको हो।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

लामो समयदेखि फरार रहेका बम्जनलाई मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको थियो। बम्जनको साथबाट तीन करोड बढी नगद र महँगो मूल्य पर्ने अन्य जिन्सी सामग्रीहरू सार्वजनिक गरेको थियो।

बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। प्रहरीले बमजन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलास समक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले बताए।

 

 

पुष २६, २०८० बिहीबार ११:४६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।