'कथाकार' डिआइजी शाहलाई तीन वर्ष जेल

'कथाकार' डिआइजी शाहलाई तीन वर्ष जेल

काठमाडौँ : भष्ट्राचारको मुद्दामा नेपाल प्रहरीका पूर्व डीआइजी तथा चर्चित लेखक महेशविक्रम शाहलाई तीन वर्ष कैद सजाय भएको छ। विशेष अदालतले बुधबार उनको सजाय तय गरेको हो।

यस अगाडि नै उनी दोषी ठहर भएका थिए तर सजाय तोकिएको थिएन। बुधबार सजाय निर्धारण गर्न बसेको विशेष अदालतको इजलासले उनलाई तीन वर्ष कैदसँगै १६ लाख ६९ हजार रूपैयाँ बिगो र त्यति नै जरिवाना भराउन आदेश दिएको छ।

अदालतले शाहसँगै भ्रष्टाचार मुद्दा लागेका पूर्व सई दीपेन्द्र प्रसाद पनेरुलाई उनी बराबरै सजाय, जरिवाना र बिगो तोकेको छ। प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव बिशुंखेलाई यस अगाडि नै सफाइ पाएका थिए।

मदन पुरस्कार विजेतासमेत रहेका शाह मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा रासनमा ३३ लाख ३८ हजार रूपैयाँ अनियमितता गरेको आरोप लागेको थियो।

उनीमाथि अनुसन्धान गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० मा शाह सहित लेखापाल दीपेन्द्र प्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर र सञ्जीव बिशुंखेलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उनीहरूमाथि भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानको नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अभियोग लागेको थियो।

२५ पुस, २०८०, २१:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।