मुक्तिनाथ केबलकारको डिपिआर लगानी बोर्डमा, कुल लगानी ५५ अर्ब १८ करोड
काठमाडौँ : प्रस्तावित विश्वकै सबैभन्दा लामो केबुलकार निर्माता मुक्तिनाथ दर्शन प्रालिले लगानी बोर्डमा अपडेट गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बुझाएको छ। बोर्डका अनुसार मुक्तिनाथले बुधवार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) समेत बुझाएको छ।
बोर्डका अनुसार ८१ किलोमिटर लामो केबुलकार बनाउन ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने छ। डिपिआर र इआइए प्रतिवेदन बुझाएपछि बोर्ड र मुक्तिनाथ दर्शनबिच आयोजना लगानी सम्झौता (पिआइए) गर्न बाटो खुलेको छ।
पहिल्यै भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडले परियोजनामा लगानी गर्न सहमति भइसकेको छ। इन्जिनियरिङ प्रक्युमेन्ट कनट्र्याक्ट र लगानी (इपिसिएफ) मोडलमा केबुलकार परियोजना बनाउन मुक्तिनाथ र के एन्ड आरबीच प्रारम्भिक सम्झौता भइसकेको छ।
के एन्ड आरले केबुलकार बनाउनुका साथै अपरिवर्त्य मुद्रामा लगानी गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो। मुक्तिनाथले प्रशासनिक र कानुनी प्रक्रिया पुरा गरेपछि तत्कालीन अवस्थाको मूल्य निर्धारणका आधारमा के एन्ड आरसँग पूर्ण सम्झौता गर्ने तयारी छ।
सरकारले दुई वर्षअघि बजेटमा ठुला परियोजना इपिसिएफ मोडलबाट बनाउने बजेटमा ल्याएको थियो। इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठुलो परियोजना हो। समझदारीअनुसार कूल रकमको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने सहमति भइसकेको छ।
२ प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकको स्वपुँजी लगानी हुने भएको छ।
शिलान्यास भएको मितिले बढीमा ४ वर्षभित्र केबुलकार निर्माण सम्पन्न हुने मुक्तिनाथ दर्शनले जनाएको छ। मुक्तिनाथले केबुलकारको डिपिआर तयार पारी २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। इआइएको स्वीकृतिमा ढिलाइले अन्य प्रक्रिया रोकिएको थियो।
पुष २५, २०८० बुधबार २१:०७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।