इटहरीमा जलन अस्पताल बनाउन प्रक्रिया सुरू

इटहरीमा जलन अस्पताल बनाउन प्रक्रिया सुरू

काठमाडौं : सुनसरीको इटहरीमा जलन अस्पताल बन्ने भएको छ।

जलन अस्पताल निर्माण गर्न आज कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएसँगै प्रक्रिया अघि बढेको हो।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि १ सय शैय्याको अस्पताल बन्न लागेको हो।

ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ विघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ। ४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन्।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताए।

उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरे बापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ।

मुख्यमन्त्री कार्कीले कोशी र मधेश प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरू गरेको बताएका छन्।

पुष २५, २०८० बुधबार १८:५८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।