सन्दीपलाई आठ वर्ष कैद, पाँच लाख क्षतिपूर्ति
काठमाडौँ : बलात्कार अभियोग पुष्टि भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले ८ वर्ष कैद सजाय सुनाएको छ। बुधवार अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनेसँगै उनलाई आठ वर्ष कैद सजाय सुनाएको हो।
इजलासले सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।
पुस १३ मा अदालतले पीडित युवती नाबालिग भएको अस्वीकार गरे पनि उनको बलात्कार भएको भन्दै सन्दीपलाई दोषी ठहर गरेको थियो। तर सजाय सुनाएको थिएन। अदालतले पीडितलाई बालिग स्वीकार गर्दा लिएको प्रमाणबारे बहस जारी छ। पीडितपक्षले अदालतको सो आदेशमा असन्तुष्टि जनाउँदै पुनरावेदन जाने बताइसकेका छन्।
अदालतको पूर्णपाठका आधारमा मात्रै इजलासले कुन प्रमाणलाई टेकेर बालिग करार गरेको हो भन्ने खुल्न सक्नेछ।
सन्दीपले २०७५ भदौ ५ मा बन्द प्रशिक्षणमै रहेको बेलामा पीडितलाई नगरकोट घुमाउन लगेर काठमाडौँ फर्किई सिनामंगलस्थित एक होटेलमा लगेर बलात्कार गरेको आरोप लागेको थियो।
नेपालमा उजुरी दर्ता हुँदा उनी केन्यामा थिए। फरार भएर अमेरिकामा लुकेका उनलाई नेपाल ल्याउन प्रहरीले इन्टरपोलबाट डिफ्युजन नोटिस नै जारी गराउनु परेको थियो।
प्रारम्भमा जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकोमा उच्च र सर्वोच्चहुँदै उनी धरौटीमा छुट्ने र नेपाल बाहिर समेत क्रिकेट खेल्न जान पाउने कानुनी अधिकार पाएका थिए।
पुष २५, २०८० बुधबार १७:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।