‘लिटिल बुद्ध’ : पढाइ ५ कक्षा, सम्पत्ति ५ करोड बढी

‘लिटिल बुद्ध’ : पढाइ ५ कक्षा, सम्पत्ति ५ करोड बढी

काठमाडौं : रामबहादुर बम्जनको शैक्षिक योग्यता पाँच कक्षासम्म मात्र रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बम्जनलाई सार्वजनिक गर्दै उनको शैक्षिक योग्यताबारे जानकारी दिएको हो।

सीआईबीले बुधवार गरेको पत्रकार सम्मेलनमा बम्जनको साथबाट तीन करोड बढी नगद र महँगो मूल्य पर्ने अन्य जिन्सी सामग्रीहरू सार्वजनिक गर्यो।

प्रहरीले उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार पाँच सय रूपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रूपैयाँ बराबरको विभिन्न विदेशी मुद्रा बरामद गर्यो।

त्यसका अलावा १४ थान मोबाइल, २० थान पेनड्राइभ, ३ थान मोटरसाइकलको बिलबुक, टोयटा हाइलक्स गाडीको चावी, भ्वाइस रेकर्डर, २ थान मेमोरी कार्ड, २ थान ल्यापटप, ५ थान आइप्याड र अन्य विभिन्न कागजात पनि प्रहरीले बरामद गरेको छ।

अनुसन्धानकै क्रममा प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुला राम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी प्रयोग गर्ने गरेको तथ्य खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

यस्तै, बम्जनको प्रयोगका लागि ललितपुर बौद्ध श्रवन धर्म संघका अध्यक्ष पनित महर्जनको नाममा पाँच करोडमा सेतो रङको ल्यान्ड क्रुजर जेडएक्स गाडी बुक भएकोमा तीन करोड भुक्तानी भई खरिदको क्रममा रहेको खुल्न आएको छ।

बम्जनले क्रसफायर बाइक, केटीएम ड्युक बाइक, यामाहा रे जेडआर स्कुटर समेत चारवटा मोटरसाइकल र स्कुटर प्रयोग गर्ने गरेको आचार्यले बताए।

बारामा जन्मिएका बम्जनले २०६२ सालदेखि आफ्नो पढाई र घर त्यागेर तपस्या सुरु गरेका थिए। घरबाट केही टाढा रहेको हलखोरियाको चारकोसे जङ्गलमा तपस्या सुरु गरेका उनलाई पछि ‘लिटिल बुद्ध’ को नामले प्रचार गर्न थालियो।

तथापि चर्चामा आएदेखि नै कुनै न कुनै विवादमा आइरहने बम्जनलाई २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीय महिलाले जाहेरी दिइन्। सोही जाहेरीको आधारमा सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएपनि उनी फरार भए।

उनी विरुद्ध यौन सन्तुष्टि प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो। प्रहरीले वान्टेडको सूचीमा राखेका बम्जन म‌ंगलबारसाँझ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ रहेको आफ्नै घरबाट पक्राउ परे।

प्रहरीले बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा उपस्थित गराएर म्याद थपिने र उनको निवासबाट फेला परेको नगदबाट अलग्गै अनुसन्धान हुने बताएको छ।

पुष २५, २०८० बुधबार १७:४५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।