बम्जन पक्राउ त परे, तर गम्भीर आरोपमा देखिएन बलियो प्रमाण
काठमाडौँ : हत्या, अपहरण अनि बाल यौन शोषणको आरोपमा राम बहादुर बम्जन( रामलाल बम्जन) लाई प्रहरीले खोजी सुरु गरेको चार वर्ष भयो। २०७६ मा सर्लाहीमा नाबालिगमाथि बाल यौन दुराचार र बलात्कारको उजुरी परेपछि प्रहरीले उनलाई खोज्न थालेको थियो।
उनको नाममा अदालतबाट पक्राउ आदेश जारी भए पनि चार वर्षसम्म प्रहरी र बम्जनबीच ‘चोर-पुलिस’को खेल जारी नै रह्यो। एकाएक मंगलबार उनी बुढानीलकण्ठमा पक्राउ परेको सार्वजनिक भयो। श्रीमती भेट्न आएको बेलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सूचना पाएर उनलाई बुढानीलकण्ठ वडा नम्बर ६ टनगाउँको एक घरबाट पक्राउ गर्यो।
बुधवार ब्युरोले बम्जन पक्राउ र अनुसन्धानमा प्राप्त विवरण सार्वजनिक गर्यो। ती विवरणहरूले बम्जनमाथि जस्तो गम्भीर प्रकृतिको आपराधिक आरोप लागेको छ त्यसबारे प्रहरी चार वर्षसम्म प्रभावकारी अनुसन्धान गरेको देखिएन।
प्रहरीले बुधवार सार्वजनिक गरेको विवरण चार वर्ष अगाडि जस्तो थियो त्यस्तै देखियो। उनको घरमा बरामद नगद र सामानको विवरण बाहेक गम्भीर आरोपबारे प्रहरीले प्रमाण सङ्कलन गरेको देखिएन।
बम्जन भागिरहे, प्रहरीले उनी कहाँ फेला पर्छन् भनेर कुरेर बसिरहे। यो बिचमा ब्युरोले अनुसन्धान, प्रमाण सङ्कलन अनि आरोप पक्राउको परिपक्व अनुसन्धान विधि अपनाउन सक्थ्यो। त्यसको सट्टा बम्जन पक्राउ पर्ने समय कुरेर बसेको र यसमा पनि पक्राउपछि अनुसन्धान अनि प्रमाणको आधारमा मुद्दाको सिफारिसकै पुरातन शैली अपनाएको पुष्टि भयो।
उनको घरमा प्रहरीले तलासीलिँदा तीन करोड ३० लाख नेपाली रुपैयाँ अनि ३० लाख ९२ हजार नेपाली रुपैयाँ बराबरको १७ देशका मुद्राहरू फेला पारेको प्रहरी विवरणमा उल्लेख छ। त्यसबाहेक मोबाइल, ल्यापटप, पेनड्राइभहरु फेला परेका छन्। प्रहरीले यी सामान बरामद गरेको मंगलबारै हो।
बुधवारको पत्रकार सम्मेलन प्रहरीले दाबी बाहेक उल्लेखनीय थप प्रमाण सार्वजनिक नगरेकाले बरामद भएका सामानहरूमा उनीमाथिको आरोप पुष्टि गर्न सक्ने प्रमाण फेला नपरेको देखिन्छ।
गम्भीर आरोप तर देखिएन बलियो प्रमाण
बम्जनविरुद्धको सबैभन्दा ठुलो प्रमाण नाबालिगमाथिको यौन शोषण हो। ब्युरोले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा यौन सन्तुष्टि प्राप्त गर्ने र बाल यौन शोषण गरेको उल्लेख गरिएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको थियो। सर्लाहीले अनुसन्धान सकाएर प्रस्तावित राय जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। यसमा पूरक अनुसन्धान गर्ने बाटो भने खुल्ला छ।
उनीमाथि लागेको अर्को गम्भीर आरोप व्यक्ति हत्या र व्यक्ति बेपत्ता सम्बन्धी आरोप हो। उनको अनुयायी चीनीमाया तामाङ, फुलमाया रुम्बा, सुरेशकुमार आले र सञ्चलाल वाइबा बेपत्ता छन्। सिआइबीले सार्वजनिक गरेको विवरणमा नुवाकोटकी चिनीमाया २०६९ असोजबाट सम्पर्कमा छैनन्। हेटौडाका फुलमाया २०७१ माघबाट बेपत्ता भइन्। २०७१ चैतमा हेटौँडाकै सञ्चलाल हराए। २०७२ जेठमा सुरेशकुमार आले हराएका थिए। यी कोही पनि फेला परेका छैनन्।
अनुसन्धानको केन्द्रमा सिन्धुपाल्चोकको तोड्केभिर
बम्जनले विभिन्न जिल्लामा आफ्नो आश्रम बनाउँदै हिँडिरहे। उनले सिन्धुपाल्चोकको बाँडेगाउँमा रहेको तोड्केभिर, सिन्धुलीको सामुदायिक बन र बाराको हल्खोरीयामा उनको आश्रम छन्। यीमध्ये मुख्य अनुसन्धानको घेरामा परेको थियो सिन्धुपाल्चोकको आश्रम।
हेटौँडा वनस्पति टोलका सञ्चलाल र फुलमाया टोड्केभिर आश्रमबाटै बेपत्ता भएका थिए। २०७० असोज ४ बाट सिन्धुपाल्चोकको आश्रममा बसेका थिए सञ्चलाल। बम्जन २०७२ वैशाख १२ को भूकम्पको केही महिनापछि मात्र त्यहाँको यो आश्रमबाट हिँडेका थिए।
घना जंगलबीच झन्डै ८० रोपनीमा आठ वटा जस्ताको टहरा बनाएर आश्रम चलाइएको थियो। अनुसन्धानमा सञ्चलालको त्यही आश्रममा हत्या गरेर गाडेको सूचनाको आधारमा सिआइबीको टोली गएर अनुसन्धान गरेको थियो।
आश्रमभित्रै सञ्चलालको हत्या गरेर शव गाडेको र शव गलाउन २० पोका बढी नुन हालेको सूचनाको आधारमा प्रहरीले आश्रमभित्रको शंकास्पदस्थानमा खनेको समेत थियो। शंकास्पद स्थानमा प्रहरीले खन्दा अन्य स्थानको भन्दा माटो खुकुलो रहेको मात्र देखिएन पाँच फिटजति खनेपछि नुनका खाली प्याकेटहरू समेत फेला परे।
नुन प्रयोग गरे पनि मानव हड्डीका अवशेषहरू त फेला पर्नुपर्ने थियो। तर फेला परेनन्। केहीले नुनले शव गलाएपछि हड्डीहरू निकालेर नजिकै अर्को स्थानमा कोइलाहरू फेला परेका थिए। कोइला फेला परेको स्थान मानव चहलपहल हुने स्थान हैन। त्यहाँ कोइला फेला पर्नु स्वाभाविक थिएन। प्रहरीले फरेन्सिक परीक्षण गर्न कोइला सङ्कलन गरेको थियो। बुधवारको पत्रकार सम्मेलनमा सार्वजनिक भएका विवरणमा आधारमा कोइलाबाट थप प्रमाण सङ्कलन भए/नभएको खुल्दैन।
२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाई उनी बस्न आएका थिए। सिन्धुलीमा ३ महिनामात्रै बसेर सर्लाहीको पत्थरकोट गएका बम्जन पुनः २०७४ साल असोजदेखि सिन्धुलीलाई नै आश्रम बनाएर बसेका छन्। कमलामाई नगरपालिका ८ स्थित पैरेमा ठुलै सुरक्षा घेराभित्र उनको आश्रम छ।
उता सिन्धुलीको कमलामाईमा रहेको सामुदायिक बनमा बम्जनले २०६८ असार १ बाट अस्थायी आश्रम बनाएर बसेका थिए। सिन्धुलीमा ३ महिना बसेर सर्लाहीको पथरकोट गएका बम्जन २०७४ मा सिन्धुलीमा फर्किए। समयतालिका अनुसार उनी सिन्धुपाल्चोकको आश्रमबाट सिन्धुली गएको हुनसक्ने देखिन्छ। प्रहरीले सिन्धुलीको आश्रममा पनि छापा मारेको थियो। तर फेला परेनन्।
बाराको हलखोरिया वन क्षेत्रको एक हजार बिघा जग्गा ओगटेर अर्को आश्रम बनाएका थिए। २०६३ देखि २०७० सम्म बम्जन हलखोरियाको वनमा नमो बुद्ध तपोवन आश्रम सञ्चालन गरेर बसे। सो आश्रममा बस्दा बम्जनका अनुयायीमाथि व्यक्ति बन्धक बनाएको, स्थानीयमाथि हातपात गरेको आरोप लागेको थियो।
पुष २५, २०८० बुधबार १६:५१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।