आगामी आवमा नेपालको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं : विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक बर्ष २०८१/०८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतले हुने प्रक्षेपण गरेको छ।
विश्व बैंकका अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतको अनुमान गरेकोमा गत आर्थिक वर्षमा आर्थिक बृद्धिदर १.९ प्रतिशतमा सीमित रहेको थियो।
त्यस्तै, विश्व अर्थतन्त्रको सवालमा भने २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ।
वर्ष २०२३ मा विश्व अर्थतन्त्रको आर्थिक वृद्धि २.६ प्रतिशत रहेको प्रक्षेपण छ। त्यस्तै, विकासोन्मुख देशहरूको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने अनुमान गरिएको छ। जुन अघिल्लो वर्षको भन्दा १ प्रतिशत कम हो।
अति कम विकसित मुलुकहरूको आर्थिक वृद्धि पनि थप कमजोर हुने देखिएको छ। विश्व बैंकको प्रक्षेपणअनुसार अति कम विकसित मुलुकहरूको आर्थिक वृद्धि ५.५ प्रतिशतमा झर्नेछ।
सन् २०२४ को अन्त्यमा चार वटा विकासोन्मुख देशमध्ये एउटा र अति कम विकसित मुलुकका ४० प्रतिशत मानिस गरिवीको रेखामुनि रहनेछन्। यो सन् २०१९ को कोभिड-१९ अघिकै अवस्था हो।
विकसित देशहरूको आर्थिक वृद्धि पनि सन् २०२३ को १.५ प्रतिशतबाट १.२ प्रतिशतमा झर्ने विश्व बैंकको अनुमान छ।
सार्क मुलुकमा भारत पहिलो
विश्व बैंकको प्रक्षेपण अनुसार अर्थतन्त्र विस्तारमा भारतले राम्रो लय लिएको छ। भारतको गत आर्थिक वर्षमा ७.२ प्रतिशत रहेको थियो भने आउँदो आर्थिक वर्षमा भने ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
विश्व अर्थतन्त्रमा आएको कमीलाई हेर्ने हो भने भारतको अर्थतन्त्र विस्तार निकै उच्च हो।
त्यस्तै, दोस्रोमा बंगलादेश रहेको छ। बंगलादेशको आर्थिक विस्तार यस बर्ष ५.६ प्रतिशतले विस्तार भएकोमा आउँदो आर्थिक वर्षमा ५.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
तेस्रो स्थानमा माल्दिभ्स रहेको छ। सो मुलुकले यस वर्ष ५.२ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ। माल्दिभ्सले आगामी वर्ष ५.५ प्रतिशत पुर्याउने छ।
चौथो स्थानमा भुटान छ। यस वर्ष ४ प्रतिशतको आर्थिक वृद्धिदर रहेको भुटानले आगामी वर्ष ४.६ प्रतिशतको वृद्धिदर समात्ने छ।
पाँचौ स्थानमा नेपाल छ।
छैटौँ स्थानमा श्रीलंका र पाकिस्तानको समान वृद्धिदर रहने देखिएको छ। दुवै मुलुकले १.७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने भएका छन्।
पुष २५, २०८० बुधबार १४:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।