दुई दिनमै टेस्ट खेल सकिएको केप टाउनको पिचप्रति आईसीसी असन्तुष्ट, दिइयो डिमेरिट अंक

दुई दिनमै टेस्ट खेल सकिएको केप टाउनको पिचप्रति आईसीसी असन्तुष्ट, दिइयो डिमेरिट अंक

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भारत र दक्षिण अफ्रिकाबीच खेलिएको केप टाउन टेस्टको पिचप्रति असन्तुष्टि जनाएको छ।

आईसीसीले पिच सुधार्न सुझाव दिँदै डिमेरिट अंक पनि काटिएको छ।

क्रिकेट साउथ अफ्रिकाले यसविरुद्ध कुनै अपील नगर्ने भन्दै आईसीसीको निर्णय मानेर सुझावको कार्यान्वयन गर्ने भएको छ।

केप टाउनको पिचमा क्रिकेट इतिहासकै सबैभन्दा छोटो टेस्ट म्याच भएको थियो जसमा भारत सात विकेटले विजयी भएको थियो। यो टेस्ट सकिन दुई दिन पनि पूरा लागेको थिएन। समान्यतया टेस्ट पाँच दिनको खेल हो।

उक्त टेस्टमा दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। दक्षिण अफ्रिकाले पहिलो दिनमा ५५ रनमा आउट भएर भारतले जवाफी ब्याटिङ थाल्यो। उ पनि १५३ रनमा समेटियो।

त्यसपछि पुन: ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १७६ रनमा अलआउट भयो।जितका लागि अब भारतलाई मात्र आवश्यकता थियो ८० रनको, जुन उसले १२ ओभरमा ३ विकेट गुमाएर ल्यायो।

दोहोरो बाउन्सका कारण फास्ट बलरहरूले नयाँ र पुराना दुवै बलबाट यस पिचमा सहयोग पाइरहेका थिए भने ब्याट्सम्यान रन बनाउन संघर्ष गरिरहेका देखिन्थे।

यो खेलमा कुनै पनि टोलीले स्पिनको एक ओभर पनि बलिङ गर्न सकेन।

आईसीसी म्याच रेफ्री क्रिस ब्रोडले दुवैतर्फका कप्तान डीन एल्गर र रोहित शर्मासँग कुरा गरेपछि पिचलाई ‘असन्तोषजनक’ ठहर गरेका थिए। दुवै कप्तानले पिच मापदण्डभन्दा तल रहेको बताएका थिए।

आईसीसी रेफ्री ब्रोडले भने, ‘यो पिचमा ब्याटिङ गर्न गाह्रो थियो। खेलभरि बल तीव्र गतिमा उछाल्दै खतरनाक तरिकाले ब्याट्सम्यानको नजिक आइरहेको थियो। जसकारण शट खेल्न गाह्रो भइरहेको थियो। ब्याट्सम्यानको ग्लभ्समा लागेर अनि असमान बाउन्सका कारण धेरै विकेट पनि खस्यो।’

आईसीसीले कुनै पनि पिचलाई चार ग्रेडमा विभाजन गर्छ। धेरै राम्रो, सन्तोषजनक, असन्तोषजनक, अनफिट।

‘असन्तोषजनक’ एउटा पिचले ग्रेडको लागि एक डिमेरिट अंक पाउँछ, जबकि ‘अनफिट’ पिचले तीन डिमेरिट अंक पाउँछ। पाँच वर्षभित्र ६ डिमेरिट पोइन्ट भएमा १२ महिनाको लागि प्रतिबन्ध लगाइन्छ भने १२ डिमेरिट पोइन्ट पाएमा यो प्रतिबन्ध दुई वर्षको हुन्छ।

पुष २५, २०८० बुधबार १३:२७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।