नक्कली छोरीलाई नागरिकता बनाइदिएको भन्दै वीरगन्जका मेयरविरुद्ध उजुरी
जनकपुर : नक्कली बाबु-आमा बनेर अर्कैकी छोरीलाई नागरिकता बनाइदिएको दाबी गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध उजुरी परेको छ।
महमद सहाबुदिनले जिल्ला प्रशासन कार्यालय पर्सामा सिंह र उनको श्रीमती अन्नपूर्णा मानन्धरविरुद्ध उजुरी दिएका हुन्।
उजुरीमा मेयरको एकजना मात्रै छोरा रहेको दाबी गर्दै अर्कैको छोरी आफ्नो भनेर नागरिकता बनाइदिएको दाबी गरिएको छ। मेयर सिंहले झुटो विवरणका आधारमा अर्कैको छोरीलाई आफ्नो छोरी बनाएर २०७१ असोज २० मा वडा नम्बर ३ बाट जन्मदर्ता गराएर २०७५ साउन १३ मा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाइदिएको उजुरीमा दाबी गरिएको छ।
उजुरीमा वडा नम्बर ३ को कार्यालयमा जन्म दर्ताको रेकर्ड माग्दा वडाध्यक्ष र सचिवले रेकर्ड हराइसकेको भनेको दाबी गरिएको छ।
उजुरीमा सहाबुदिनले आवश्यक छानबिन गरी नक्कली बुबा बनेका मेयर सिंहलाई कानुन बमोजिम हदैसम्मको कारबाही र जारी भएको नक्कली नागरिकता र राहदानी खारेज गर्न माग गरिएको छ।
पुष २४, २०८० मंगलबार २२:१६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।