गृहमन्त्रीले सातै प्रदेशको प्रहरी प्रमुख बदले

गृहमन्त्रीले सातै प्रदेशको प्रहरी प्रमुख बदले

काठमाडौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका १६ डिआइजीको काज सरुवा निकालेका छन्। मंगलबार उनले १६ डिआइजीको सरुवा/काजको निर्णय गरेका हुन्। निर्णय अनुसार सबै प्रदेशका प्रमुख बदलिएका छन्।

कोशी प्रदेशमा चन्द्रकुवेर खापुङ गएका छन्। मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र रवीन्द्र केसी सुदूरपश्चिम प्रदेशको प्रमुख भएका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेका आचार्य इपिएस परीक्षाको विषयमा भएको विरोधमा दुई युवा मारिएको घटनाको छानबिन समितिको प्रमुख छन्।

सुरेन्द्र मैनाली प्रदेश समन्वय विभाग, बुद्धिराज गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, किरण राणा केन्द्रीय अनुसन्धान ब्युरो, राजेशनाथ बास्तोला अन्वेषण महाशाखा, भरतबहादुर बोहरा कार्य निर्देशनालयमा सरुवा भएका छन्।

भिमप्रसाद ढकाल महानिरीक्षकको सचिवालय, दुर्गा सिंह उपत्यका प्रहरी कार्यालय, उमेशराज जोशी प्रहरी प्रशिक्षण प्रतिष्ठान र जनक भट्टराई अपराध अनुसन्धान विभागमा सरुवा भएका छन्।

प्रहरी नियमावली अनुसार एसपीतहसम्मको सरुवा प्रहरी महानिरीक्षकले गर्न सक्छन्। एसएसपी र डिआइजीको सरुवा गृहमन्त्री र एआइजीको सरुवा मन्त्रीपरिषद्ले गर्छ।

पुष २४, २०८० मंगलबार २२:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।