राप्रपाका अम्बरबहादुर कोशी प्रदेशको सभामुखमा निर्विरोध, सपथग्रहण आजै
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
आज कोशी प्रदेशसभाको बैठकबाट उनी निर्विरोध निर्वाचित भएका हुन्।
सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि उनी सर्वसम्मत भए।
नवनिर्वाचित सभामुख विष्टले आजै पद तथा गोपनियताको सपथ लिएका छन्। सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन्। सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए।
तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि गएको साउन १६ यता कोशी प्रदेशसभा सभामुखविहीन थियो।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। वर्तमान सरकार जोगाउन सभामुख पद एमाले र राप्रपामध्ये एकलाई बुझाउनुपर्ने बाध्यता गठबन्धनलाई थियो।
गठबन्धन दलसँग ४७ सांसद मात्रै छन्। सरकार जोगाउन गठबन्धनले राप्रपालाई सभामुख दिएको हो। सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका एकजना सांसद छन्। प्रतिपक्षमा ४० जना सांसद रहेको एमाले र ६ जना सांसद रहेको राप्रपा छ।
पुष २४, २०८० मंगलबार १७:३५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।