अबको ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

अबको ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

 

काठमाडौं : उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान अबको रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ।

यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो।

वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ।

पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ। पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ।

पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइनेछ।

त्यस्तै, दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिनेगरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको उनको भनाई छ।

पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ।

उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए।

जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए। त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए।

पुष २४, २०८० मंगलबार १६:५६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।