‘द भोइस अफ नेपाल’को टप ११ बाट बाहिरिएकी प्रतिष्पर्धीसँग प्रमोदले गाए गीत

‘द भोइस अफ नेपाल’को टप ११ बाट बाहिरिएकी प्रतिष्पर्धीसँग प्रमोदले गाए गीत

काठमाडौं : गायक प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सोमबार गायक खरेलकै युटुयूब च्यानलमार्फत रिलिज गरिएको हो। गीत रिलिज भएको १८ घण्टामा युटुयूबको ट्रेण्डिङ ११ मा आइपुगेको छ।

गायिका रोजिना ‘द भोइस अफ नेपाल’को टप ११ बाट बाहिरिएकी प्रतिस्पर्धी हुन्। उनलाई संगीतकार अर्जुन पोखरेलले भोइसका कोच प्रमोद खरेलसँग गीत गाउने अवसर प्रदान गरेका हुन्।

गीतमा संगीतकार अर्जुनकै शब्द रचना रहेको छ।

संगीतकार पोखरेलले उकेरासँगको कुराकानीमा भने, ‘प्रमोद खरेल सरले नै राम्रो गाउने बैनी हो भनेर सिफारिस गर्नु भएको हो। प्रोड्युसरका हिसाबले पनि उहाँ नै हुनुहुन्छ।’

उनले यो गीत कुनै फिल्मका लागि सुहाउँछ भनेर राखेका रहेछन्। प्रमोदले सिफारिस गरेपछि उनलाई गीत गाउन दिएको संगीतकार पोखरेलले बताए।

‘खासमा मैले यो गीत फिल्मका लागि लेखेको र संगीत भरेर राखेको थिए,’ उनले भने, ‘उहाँले यो गीतमा रोजिनाको भोकल रेन्ज पुग्छ, गाउनुहुन्छ भन्ने कुरा भइसकेपछि काम गर्नै आएका मान्छे हौँ भन्ने हिसाबले सहकार्य गरेका हौँ।’

अभिनास पासवानको एरेन्ज नरेश बिसीको मिक्स मास्टरिङ्ग गरेको गीतलाई रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन्।

गीतको भिडियोमा गायक गायिका आफैलाई अभिनय गराइएको छ।

बुद्ध थापाले खिचेको भिडियालाई अर्जुन तिवारीले निर्देशन गरेका हुन् भने लगानी दिपा सिटौलाको पनि छ।

पुष २४, २०८० मंगलबार १३:४६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।