व्यवस्था फेर्न जनआन्दोलन गर्ने कमल थापाको तयारी

व्यवस्था फेर्न जनआन्दोलन गर्ने कमल थापाको तयारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको शासकीय व्यवस्थालाई फेर्नका लागि जनआन्दोलनको अन्तिम तयारी गरिएको बताएका छन्।

आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले सकेसम्म दलहरूबीच सहमति र सहकार्यमा परिवर्तन गर्ने र नभए जनआन्दोलन गर्न पनि पछि नहट्ने बताए।

‘यो परिवर्तनलाई संस्थागत गर्न दलहरूबीच सहकार्य हुनुपर्छ। दलहरू तयार हुने हो भने यही संविधानबाट यो परिवर्तनलाई संस्थागत गर्न सकिन्छ,’ उनले भने, ‘यदि सहमति र सहकार्यबाट परिवर्तन नगर्ने हो भने जनआन्दोलन नै अन्तिम विकल्प रहनेछ। राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी समेत गरिसकेको छ।’

उनले आन्दोलन एउटा पार्टीको मात्रै नभई वृहत् रूपमा अघि बढ्ने बताए।

‘आन्दोलन एउटा पार्टीको मात्रै नहोस् भनेर वृहत् राष्ट्रिय मोर्चाको अवधारणा अघि सारेका छौँ,’  उनले थपे, ‘देशमा क्रियाशील राष्ट्रवादी, देशभक्त, हिन्दुवादी, राजावादी सबैलाई आह्वान गरेका छौँ।’

सङ्घीय व्यवस्था भ्रष्ट र तस्करतन्त्रमा परिणत भएको उनको आरोप छ।

‘सङ्घीय गणतन्त्र भ्रष्ट र तस्करतन्त्रमा, सिण्डिकेटतन्त्रमा रूपान्तरण भएको छ। यो व्यवस्थाको परिवर्तन अनिवार्य भएको छ,’  थापाले भने, ‘यसको विकल्पमा सनातन हिन्दु राष्ट्र, राजतन्त्र सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश स्तरीय संरचनाको खारेजी गरी २ तहको सरकार रहने व्यवस्था कायम गरिनुपर्छ।’

पुष २४, २०८० मंगलबार १३:२३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।