बंगलादेशको निर्वाचनमाथि अमेरकी टिप्पणी- चुनाव ‘स्वतन्त्र र निश्पक्ष’ भएन

बंगलादेशको निर्वाचनमाथि अमेरकी टिप्पणी- चुनाव ‘स्वतन्त्र र निश्पक्ष’ भएन

एजेन्सी : बंगलादेशको आम चुनावमा अवामी लिगकी अध्यक्ष शेख हसिनाको लगातार चौथो जितपछि अमेरिकाले बंगलादेशको चुनाव ‘स्वतन्त्र वा निष्पक्ष’ नभएको टिप्पणी गरेको छ।

चुनावका क्रममा भएको हिंसाको निन्दा गर्दै अमेरिकाले निर्वाचनमा विपक्षीले भाग नलिएको र विपक्षी नेताहरूको गिरफ्तार भएकोप्रति चिन्ता व्यक्त गरेको छ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले सोमबार बंगलादेशमा भएको आम निर्वाचनमा सबै दल सहभागी नहुनुलाई दु:खद् भनेका छन्।

पर्यवेक्षकहरूले निर्वाचन स्वतन्त्र वा निष्पक्ष नभएको धारणा राखेको भन्दै म्याथु मिलरले चुनावको क्रममा र पछिल्ला केही महिनाहरूमा भएको हिंसाको समेत निन्दा गरेका छन्।

उनले भने, ‘हामी बंगलादेश सरकारलाई हिंसाको रिपोर्टको विश्वसनीय रूपमा अनुसन्धान गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गर्दछौं।’

यद्यपि, अमेरिकाले ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि हाम्रो साझा दृष्टिकोणलाई अगाडि बढाउन’ बंगलादेशसँग निरन्तर सहकार्य जारी राख्नेसमेत बताएको छ।

अमेरिकाको परराष्ट्र मन्त्रालयले बंगलादेशमा मानवअधिकार र नागरिक समाजलाई सहयोग गर्न र दुई देशबीचको जन–जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्न काम गर्न तत्पर रहेको बताएको छ।

बंगलादेशमा लगातार चौथो र कुल पाँचौंपटक शेख हसिना नै प्रधानमन्त्री बन्दैछिन्। उनी सन् १९९६ देखि २००१ सम्म पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्।

त्यसपछि बीचमा केही समय सत्ताबाहिर रहेकी उनी त्यसपछि लगातार चौथोपटक निर्वाचन जितेर प्रधानमन्त्री हुँदैछिन्।

पुष २४, २०८० मंगलबार १२:११:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।