वर्ष २०२३ : १७ सय ९५ नेपाली रूस गए, रूसी सेनामा भर्ती नेपालीको यकिन तथ्यांक छैन सरकारसँग

वर्ष २०२३ : १७ सय ९५ नेपाली रूस गए, रूसी सेनामा भर्ती नेपालीको यकिन तथ्यांक छैन सरकारसँग
फाइल फोटो

काठमाडौं : सन् २०२३ वर्षभित्र एक हजार ७९५ नेपाली रुस गएको पाइएको छ।

अध्यागमन विभागले सार्वजनिक गरेको विवरणमा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली रुस गएको पाइएको हो।

विभागका अनुसार यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्र हो।

पछिल्लो समय विभिन्न बहानामा रूस पुगी त्यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या बढ्दो छ। केही महिनायता रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् भने चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ।

रूसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन विवरण नेपाल सरकारले प्राप्त गर्न सकिरहेको छैन।

रूसी सेनामा भर्ती भएका नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि नेपालले रूससँग भर्ती भएका नेपालीको विवरण माग्दै आएको छ। नेपालले थप नेपालीलाई भर्ती नलिन र भर्ती भएकालाई फिर्ता बोलाउन समेत रूससँग आग्रह समेत गरेको छ।

तथापि रुसले नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ। गतसाता रूसी राष्ट्रपतिले नेपाली लगायत विदेशीलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका छन्।

विभागले सार्वजनिक गरेको विवरण अनुसार वर्ष २०२३ मा मात्र ९५ जना नेपाली युक्रेन गएका छन्।

पुष २४, २०८० मंगलबार ११:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।