अलास्का एयरलाइन्स प्रकरण : बोइङ विमानको ढोकाको नटबोल्ड अझै अलिकति कस्नुपर्ने प्राविधिक टोलीको निष्कर्ष

अलास्का एयरलाइन्स प्रकरण : बोइङ विमानको ढोकाको नटबोल्ड अझै अलिकति कस्नुपर्ने प्राविधिक टोलीको निष्कर्ष

एजेन्सी : बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका बोल्टहरू अझै अलिकति कस्नुपर्ने निष्कर्ष प्राविधिक टोलीले निकालेको छ।

अलास्का एयरलाइन्सको उडिरहेको एक विमानको एक ढोका भुइँमा खसेपछि बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानहरु निरीक्षणको क्रममा बोल्टहरू अझै कस्नुपर्ने जरुरी देखिएको शिकागोस्थित युनाइटेड एयरलाइन्सले जनाएको हो।

गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड (ओरेगान)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको आपतकालीन ढोका हावाको दबावमा अलग्गिएर भुइँमा खसेको थियो।

उक्त घटनापछि बोइङ ७३७ म्याक्स ९ मोडेलका सबै १७१ वटा विमानहरुलाई अमेरिकाको संघीय उड्डयन प्रशासनले ग्राउन्डेड गरिदिएको छ।

त्यसपछि युनाइटेड एयरलाइन्सको प्राविधिक टोलीले त्यो मोडेलका सबै विमानहरूको प्राविधिक जाँच गरेको थियो।

सोही जाँचपछि ७३७ म्याक्स ९ मोडलका विमानका विभिन्न बोल्टहरुलाई अझै अलिकति कस्नुपर्ने निष्कर्ष निकालिएको बीबीसीले लेखेको छ।

युनाइटेड एयरलान्यसका अनुसार ती विमानहरुको डोर प्लगसँग सम्बन्धित इन्सटलेसनको समस्या पनि समाधान गरिएको छ।

युनाइटेड एयरलाइन्सले विज्ञप्ति जारी गरेर भनेको छ, ‘शनिबार हामीले प्रारम्भिक जाँच गर्यौं। हामीलाई डोर प्लगको इन्सटलेसनसँग सम्बन्धित सामान्य समस्या देखियो। हामीले बोल्टहरुलाई अझै अलिकति कस्नु जरुरी छ।’

‘डोर प्लग’ आपतकालीन निकासको बेला प्रयोग हुने ढोकाको एक हिस्सा हो। अलास्का एयरलाइन्सको विमानको यही हिस्सा विमान उडिरहेको बेला निस्किएर भुइँमा खसेको थियो।

त्यसपछि १७१ यात्री र चालक दलका ६ सदस्यहरु रहेको उक्त विमानलाई आकस्मिक अवतरण गराउनुपरेको थियो। विमानमा रहेका सबै जना सकुशल रहे।

विमानबाट अलग भएको ढोका भने एक शिक्षकको बगैंचामा भेटिएको थियो।

पुष २४, २०८० मंगलबार ०९:४१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।