जिम्बावेविरुद्ध श्रीलंका २ विकेटले विजयी, सिरिजमा १-० ले अगाडि
काठमाडौं : जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा श्रीलंका २ विकेटले विजयी भएको छ।
योसँगै तीन खेलको सिरिजमा श्रीलंका १–० ले अगाडि छ। पहिलो खेल पानीका कारण रद्द भए पनि दोस्रो खेल भने पूर्णरुपमा सञ्चालन भएको हो।
श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावेले ४४.४ ओभरमा सवै विकेट गुमाएर २०८ रन मात्र जोड्न सक्यो।
उसका लागि क्रायग इरभाइनले ८२, जोयलर्ड गुम्भीले ३० र मिल्टन शुम्बाले २६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
श्रीलंकाका महीश थीक्सानाले चार, दुश्मन्थ चमीरा र जेफ्रेन बन्देरसेले दुई–दुई तथा दिलशान मधुशान्काले एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले ४९ ओभर ८ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि जनिथ लियाङ्एजले ९५, जेफ्रेन बन्देरसेले १९, थीक्साना र चमीराले समान १८ र कुशल मेन्डिसले १७ रन जोडे।
जिम्बावेका रिचार्ड एनगरभाना एक्लैले पाँच विकेट लिँदा सिकन्दर राजाले दुई विकेट हात पारे।
सिरिजको तेस्रो खेल ११ जनवरीमा हुनेछ। त्यसपछि दुवै टोलीले तीन खेलको टी२०आई सिरिज खेल्नेछ।
पुष २४, २०८० मंगलबार ०८:३८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।