नेपाली नागरिक निर्वाण विदेशी बैंकको अध्यक्ष बन्दा १३ दिनदेखि राष्ट्र बैंक कानुन पढेको पढ्यै, चौधरी घराना कानुन छलेको छल्यै
काठमाडौँ : नेपाली नागरिक तथा नबिल बैँकका सञ्चालक सदस्य निर्वाण चौधरी श्रीलङ्काली वाणिज्य बैँक ‘युनियन बैँक अफ कोलम्बो’को अध्यक्षमा नियुक्त भएको १५ दिन कट्यो। उनी पुस ८ गते युनियन बैँक अफ कोलम्बोको अध्यक्ष पदमा नियुक्त भएको समाचार बाहिरिएको थियो।
युनियन बैँकका अनुसार चौधरी २०२३ डिसेम्बर २१ बाट लागु हुनेगरी युनियन बैँकको अध्यक्षमा नियुक्त भएका हुन्। अक्टोबर २०२३ मा युनियन बैँक बोर्डको गैर-कार्यकारी, गैर-स्वतन्त्र निर्देशकको रूपमा उनलाई नियुक्त गरिएको बैङ्कले जनाएको छ।
नेपाली नागरिक विदेशी बैंकको अध्यक्ष नियुक्त भएको पुष्टि भइसक्दा पनि नियामक निकाय नेपाल राष्ट्र बैँकका अधिकारीहरू भने मौन छ। नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा.दिल्लीराम पोखरेलले आइतबार उकेरासँग लाजै नमानी यसबारे अहिलेसम्म केही जानकारी नलिएको बताए। उनको दाबी पत्याउने हो भने निर्वाण श्रीलङ्काको बैँकको अध्यक्ष भएकोबारे उकेरामा प्रकाशित विवरणबाहेक राष्ट्र बैङ्कलाई थप केही जानकारी छैन। जबकि सोही बैङ्कले आफ्नो आधिकारिक वेबसाइटमा चौधरी नियुक्त भएकोबारे प्रेस रिलिज जारी गरेको मात्र छैन बैँकको सञ्चालक समितिको विवरण समेत अपडेट गरिसकेको छ।
‘तपाईँले अस्ति लेख्नु भएको न्युज मैले हेरे, तर अहिलेसम्म उहाँहरूसँग कुनै प्रकारको जानकारी लिएका छैनौ’ उनले भने।
चौधरी एउटै उद्देश्य बोकेको कम्पनीमा बस्न पाउने कि, नपाउने भन्ने बारेमा प्रश्न गर्दा उनले युनियन बैँक अफ कोलम्बोको अध्यक्ष र नबिल बैँकको सञ्चालक समितिको सदस्य भएकाले के हुन्छ भन्ने जानकारी नभएको भन्दै तर्किए।
‘यो विषयमा मैले केन्द्रीय बैँकका कानुनी जानकार तथा सम्बन्धित निकायका पदाधिकारीलाई सोधे तर स्पष्ट जवाफ आएन। तपाईँले भन्नुभएको जस्तो, नेपालको कम्पनी अधिकार ऐन, २०६३ ले पब्लिक कम्पनीले दोहोरो भूमिकामा एकै व्यक्ति बस्न अनुमति दिँदैन। तर निर्वाण नेपालको वाणिज्य बैँकको सञ्चालक समिति सदस्य र अर्को श्रीलङ्काको वाणिज्य बैँकको अध्यक्ष भएका त हुन्। उद्देश्य पनि एकै हो। तर श्रीलङ्काको बैङ्कमा अध्यक्ष भएकोलाई के गर्ने भन्ने बारेमा हामीलाई थाहा नै भएन।’ उनले भने।
गत पुस ११ गते उकेराले निर्वाण चौधरी नबिल बैँकको सञ्चालक सदस्य र युनियन बैँकको अध्यक्ष हुन पाउने कि, नपाउने भनेर प्रश्न गर्दा सूचना अधिकारी पोखरेलले कानुनी विषय भएकोले यसको बारेमा बुझेर जवाफ दिने बताएका थिए। तर १३ दिनपछि पनि उनको जवाफै उस्तै छ।
१३ अर्बमा बैंकको बहुमत शेयर खरिद
युनियन बैङ्कले राखेको शेयर विक्री सम्बन्धी विवरणमा विनोद चौधरी अध्यक्ष रहेको सिजी कर्प ग्लोबलको सहायक कम्पनी सिजी क्यापिटल पाट्नरस् ग्लोबलले श्रीलङ्काको बैंकको बहुमत सेयर किनेको पुष्टि हुन्छ।
श्रीलङ्काको युनियन बैङ्कमा कल्चर फाइनान्सियल होल्डिङ्समार्फत लगानी भएको देखिन्छ। चौधरी समूहले सोही कम्पनीमा रहेको बैंकको ७०.८४ प्रतिशत शेयर १३ अर्ब २७ करोड नेपाली रुपैयाँमा किनेको देखिन्छ।
सिजी क्यापिटल पाट्नरस् सिंगापुरमा दर्ता भएको कम्पनी हो। यो सन् २०११ मा दर्ता भएको देखिन्छ। २०२३ अक्टोबर २७ मा युनियन बैङ्कले सिजीले बैँकको बहुमत शेयर किनेको विवरण सार्वजनिक गरेको थियो।
त्यो भन्दा दुई दिन अगाडि सन् २०२३ अक्टोबर २५ मा कोलम्बो स्टक एक्सचेन्जले सेयर किनबेचको अनुमति दिएको खुल्यो।
शेयर विक्रीको जानकारीसँगै बैङ्कले जारी गरेको विज्ञप्तिमा विनोद चौधरीको भनाइ समेत राखिएको छ। जसमा सिजी कर्प ग्लोबलका अध्यक्ष चौधरीले भनेका छन् :
‘यो श्रीलङ्काको वित्तीय सेवा क्षेत्र र युनियन बैँकको लागि ठुलो लगानी हो। बैङ्कले बलियो ट्रयाक रेकर्ड राखेको छ र बैङ्किङ क्षेत्रमा थप कोसेढुङ्गाहरू हासिल गर्न थप वृद्धि गर्ने र अझ ठुलो काम गर्ने सम्भावना छ। हामी युनियन बैङ्कलाई श्रीलङ्काका शीर्ष निजी वाणिज्य बैङ्कहरूमध्ये एक बनाउन रणनीतिक वृद्धि दृष्टिकोण लिइरहेका छौँ। नेपालको सबैभन्दा ठुलो बैँक बन्न नबिल बैँकको प्राप्ति र सङ्क्रमण यसको उत्कृष्ट उदाहरण हो। सिजीको मुख्य दक्षता र विशेषज्ञताको आधारमा, हामी अफ्रिका, नेपाल र भुटानजस्ता उदीयमान र सीमावर्ती बजारहरूमा युनियन बैँकको विस्तारको सम्भावनालाई पनि हेर्न चाहन्छौं। श्रीलङ्काको यो प्रतिष्ठित र राम्रो पुँजी भएको बैङ्कसँग आबद्ध हुन पाउनु ठुलो कुरा हो। मलाई विश्वास छ, हामी अगाडि बढ्दा सँगै धेरै गर्न सकिन्छ।‘
यसरी विदेशी बैङ्कमा लगानी गर्दा गौरव गर्ने विनोद नेपाली नागरिक मात्रै हैनन्, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनि प्रतिनिधि सभाका सदस्य समेत हुन्।
अफसोर कारोबारको शंका
युनियन बैँकको शेयर कारोबारका विवरणहरू हेर्दा अफसोर मार्फत कारोबार भएको शंका बढाउँछ। उनीहरूले सिधै बैँकको हैन श्रीलङ्काको बैङ्कमा शेयर रहेको कल्चर फाइनान्सियल होल्डिङ्सको ७०. ८४ प्रतिशत १३ अर्ब २७ करोड ८९ लाखमा किनेको देखिन्छ।
सो कल्चर फाइनान्सियल ट्याक्स छल्न सहज हुने अफसोर कम्पनीहरूको स्वर्गभुमी केम्यान आइस्ल्याण्डमा दर्ता भएको कम्पनी देखिन्छ। बेलायती पत्रिका दि गार्जियनले केम्यान आइस्ल्याण्डलाई मस्ट नोटोरियस ट्याक्स हेवन अन अर्थ( पृथ्वीमा भएकामध्ये कर छलीका लागि सबैभन्दा कुख्यात स्वर्ग) भनेर लेखेको छ।
त्यसमा सिजी अगाडि टिपिजी एसियाको शेयर रहेको देखिन्छ जो सन् २०१४ मा युनियन बैँक अफ श्रीलंकामा प्रवेश गरेको थियो।
टेक्सस पेसेफिक ग्रुपको सहायक कम्पनी टिपिजी क्यापिटल मेनेजमेन्टले सन् २०१४ मा बैँकको ७० प्रतिशत शेयर किनेको थियो। त्यहीमार्फत चौधरीको कम्पनीले बैँकको शेयर किनेको देखिन्छ।
कानुन नै अस्पष्ट
नेपालको हकमा कुनै पनि पब्लिक कम्पनीमा एउटै उद्देश्य भएको संस्थामा काम गर्न नपाउने भनेर कम्पनी ऐन, २०६३ ले व्याख्या गरेको छ। तर विदेशी पब्लिक कम्पनी र नेपालको पब्लिक कम्पनीमा एउटै व्यक्ति बस्न पाउने/नपाउने भन्नेबारे उल्लेख छैन।
कानुनमा रहेको यही कमजोरीमा चौधरी समूहले खेलेर नेपालको बैँकको सञ्चालक हुँदाहुँदै श्रीलङ्काको बैँकको अध्यक्ष बनेको प्रस्टै देखिन्छ।
कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा १ को (छ) मा ‘समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत सेयरधनी, कर्मचारी, लेखा परीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएको, तर एउटा प्राइभेट कम्पनीको त्यस्तो व्यक्ति समान उद्देश्य भएको अर्को प्राइभेट कम्पनीमा सञ्चालक हुन सक्ने’ उल्लेख छ। यो कानुन नेपालभित्र मात्रै लागु हुने हो।
काठमाडौँ स्कुल अफ ल का प्राध्यापक ज्योतिराम फुयाँलका अनुसार श्रीलंकामा नेपाल जस्तै अस्पष्ट कानुन नभएको अवस्थामा नेपालकै कानुनलाई पनि अनुसरण गर्न सकिन्छ।
‘नेपालभित्रको कुरा भएको भए कम्पनी अधिकार ऐन अनुरूप उनी कुनै पनि पब्लिक कम्पनी दुईवटा पदमा बस्न पाउँदैन थिए। तर नेपाल र श्रीलङ्काको कुरा भएकोले यदि श्रीलंकामा कानुन नभएको अवस्थामा भने अन्तर्राष्ट्रिय कानुन अनुसार सम्झौता हुन सक्छ। तर यसका लागि एउटा देशको कानुन अर्को देशले मान्ने सहमति भएको हुनुपर्छ।‘
यो प्रावधान चौधरीको हकमा लागु हुने देखिन्न। किनकि नेपाल र श्रीलङ्काबीच परस्पर कानुनी सहायता सम्बन्धी सन्धि भएको छैन।
कानुन छलेको छल्यै
कम्पनी ऐनले नेपाली बैँकको व्यवस्थापनमा रहेको व्यक्ति विदेशी बैँकको नेतृत्वमा जान पाउने या नपाउने उल्लेख गरेको देखिएन। तर विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन– २०२१ मा नेपाली नागरिकले विदेशमा गर्न नपाउने लगानीबारे प्रस्ट उल्लेख गरेको छ।
यो ऐन ‘नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक र नेपालभित्र स्थापित भएको सङ्गठित संस्थाहरूमा लागू हुने’ प्रस्ट उल्लेख छ।
ऐनको दफा २ मा, लगानी शब्दको परिभाषा गर्दै’ विदेशमा सेक्युरिटी, विदेशी फर्मको साझेदारी, विदेशी बैङ्कमा एकाउन्ट, विदेशस्थित घरजग्गामा लगानी गर्न नपाउने उल्लेख छ।
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको बाहेक विदेशमा गरिने जुनसुकै किसिमको नगदी र जिन्सी कारोबारमा समेत रोक लगाएको छ।
सोही ऐनमा विदेशी सेक्युरिटी भन्नाले विदेशमा सिर्जना वन निष्कासन गरिएको सेक्युरिटी र साँवा वा ब्याज विदेशी मुद्रामा वा विदेशमा भुक्तानी हुने वा हुनसक्ने सेक्युरिटी सम्झनुपर्ने उल्लेख छ।
अनि सेक्युरिटीको परिभाषित गर्दै शेयर, स्टक, डिबेन्चर स्टक र सरकारी सेक्युरिटी, सेक्युरिटीको डिपोजिटको सम्बन्धमा डिपोजिटको रसिद र युनिट ट्रस्टको युनिट वा सब युनिट सम्झनुपर्ने र यो शब्दले सेक्युरिटी उपरको हकको प्रमाण पत्र समेत जनाउने उल्लेख छ।
यसको उलङ्घन गर्नेको हकमा बिगो बमोजिम जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ। यो मुद्दा सरकारवादी हुने मुद्दा हो। तर नेपाली नागरिक विदेशी बैँकको अध्यक्ष भएको प्रमाणित भइसक्दा पनि सरकारी निकाय केही थाहा नपाएजस्तै मौन बसिरहेका छन्।
चौधरी समूहको अफसोर कारोबार नयाँ हैन
चौधरी समूहले जुन रूपमा विदेशमा लगानी बढाइरहेको छ त्यसले यसले नेपालको कानुन उलङ्घन गरेको प्रस्टै देखिन्छ। यस अगाडि विनोद चौधरीले दुई छोरा वरुण र राहुललाई गैर आवासीय नेपाली बनाएर नेपाली कानुनको कमजोरीहरूमा खेल्दै आएका थिए। अहिले त जेठो छोरा निर्वाणलाई विदेशी बैँकको अध्यक्षमै नियुक्त गराए।
अमेरिकाको वासिङ्टन डिसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरणका आधारमा सिआइजे नेपालले २०७८ असोज १७ मा प्रकाशित गरेको समाचार अनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता रहेको उल्लेख छ।
समाचारअनुसार ती सबै देशमा दर्ता भएका कम्पनीहरूमा श्रीलङ्काको बैँकका अध्यक्ष भएका निर्वाणसहित सारिका, विनोद, वरुण अनि राहुल चौधरीको लगानी रहेको उल्लेख छ।
चौधरी समूहका समाचार
पुष २३, २०८० सोमबार १८:४३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।