भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको आग्रह

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरूलाई नेपालको फस्टाउँदो पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

आज काठमाडौँमा आयोजित नेपाल–इन्डिया बिजिनेस फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले द्रुत रुपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीको लागि प्रशस्त सम्भावनाहरू रहेको बताए।

उनले नेपालमा पर्यटन पूर्वाधारको क्षेत्रमा हालै भएको उल्लेख्य विकासबारे चर्चा गर्दै भैरहवा र पोखरामा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै नेपालमा पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको उनले बताए।

उनले नेपालमा होटल, केवलकार, थिम पार्क, साहसी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे।

‘नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मारेको छ। म भारतीय लगानीकर्तालाई नेपालमा बढ्दो पर्यटन सम्भावनालाई प्रयोग गर्दै यहाँका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु। दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सँगसँगै पर्यटकको आगमन बढेको छ। यसले धेरै क्षेत्रमा लगानी गरी फाइदा लिनसक्ने वातावरण बनाइदिएको छ,’ उनले भने।

उनले नेपालमा परम्परागत क्षेत्रभन्दा बाहिर रहेका नयाँ क्षेत्रहरू शिक्षा, स्वास्थ्य, कृषि र उत्पादनमा लगानीका लागि सहकार्य गर्नका लागि समेत आग्रह गरे।

नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले निकै राम्रो प्रतिफल लिइरहेको बताउँदै अध्यक्ष ढकालले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको फाइदा उठाउन आह्वान गरेका हुन्।

नेपालमा भारतीय लगानीले नेपालको आर्थिक विकासमा मात्र योगदान पुर्याउने नभई दुई देश बीचको आर्थिक सम्बन्ध पनि बलियो बनाउने विश्वास उनले व्यक्त गरे।

अध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यमा नेपाल सरकारले यही वैशाखमा आयोजना गर्न गइरहेको लगानी सम्मेलनको चर्चा गर्दै त्यसमा भारतीय लगानीकर्तालाई सक्रिय सहभागिताका लागि आमन्त्रण समेत गरेका हुन्।

हालै भारतीय विदेशमन्त्री जय शंकरको भ्रमणको अवसरमा नेपाल र भारतबीच १० हजार मेगावाट सम्म नेपालको विद्युत भारतीय बजारमा लिने विषयमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्तालाई ठूलो अवसर सृजना गरेको बताए।

पुष २३, २०८० सोमबार १५:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।