‘नयाँ कलाकार भएपछि त हलवाला मात्र होइन, फिल्मकर्मी र मिडियाले पनि साथ नदिने रहेछन्’
काठमाडौं : नयाँ कलाकारलाई मौका दिएर जोखिम मोल्दै आएका निर्देशक हुन् दीपक श्रेष्ठ। १५ वर्ष अघि फिल्म ‘पर्खि बसे’मा राजवल्लभ कोइराला र यूना उप्रेतीले डेब्यू गराएर आलोचना खेपेका थिए।
यस पटक यसको नामको पछाडि तिमीलाई थपेर ‘पर्खि बसे तिमीलाई’ निर्माण गरे।
यो फिल्ममा पनि उनले नवोदित कलाकारलाई लिएर अर्को जोखिम मोलेका छन्। फिल्ममा उनले यसपटक निर्माता राजाराम बुढाथोकीकी छोरी रक्षा बुढाथोकी र किरण श्रेष्ठलाई डेब्यू गराएका छन्।
यही शुक्रबाट रिलिज हुने तयारीमा रहेको फिल्मलाई लिएर निर्देशक श्रेष्ठले मिडियासामु दुखेसो पोखेका छन्।
यतिको मेहनत गर्दा पनि मिडिया, हलवाला र फिल्मकर्मीले नै फिल्मको चासो नदिएको प्रति उनको दुखेसो थियो। उनलाई कलाकार किरण र रक्षालाई लिएर फिल्म चलाउनै मुस्किल परेको देखियो।
शनिबार उनले हात्तिसारस्थित नेपाल हाउसमा पत्रकार सम्मेलन गर्दै फिल्ममा आफूलाई कसैले साथ नदिएको गुनासो पोखे। उनी आफ्ना भनाई राख्दा आँसु मात्र खसाल्न सकेका थिएनन्।
उनले भावुक हुँदै नयाँ कलाकार भनेपछि हलले उचित स्थान नदिएको बताए।
‘हलमा फिल्म चल्ने वा नचल्ने टुङ्गो नहुने, मिडियाले पनि उचित स्थान नदिने लगायतका धेरै समस्याको सामना गर्दै यहाँ सम्म आएका छौँ,’ उनले भने, ‘नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा संघर्ष गर्नुपर्ने हुन्छ। यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुस गरेको छ।’
उनले पछिल्लो समय किरण र रक्षालाई लिएर निर्माण गरेको फिल्म ‘पर्खि बसे तिमीलाई’को पत्रकार सम्मेलनमा निर्देशक श्रेष्ठले आफै उद्घोषणको जिम्मा लिएका थिए। सोही समयमा उनले आफ्ना भनाइहरू राखिरहे।
उनले थपे, ‘पुराना कलाकार भइदिएको भए क्यामेरा बोकेर पत्रकारहरू पछाडिसम्म हुनुहुन्थ्यो होला। नयाँ हुनुहुन्छ…, खैर, केही छैन।’
केही मिडियाले फिल्म रिलिज नहुँदै अड्कल-बाजीको भरमा यो फिल्म चल्दैन, यो फिल्मको कथा यस्तो भन्दै लेखिदिएको भन्दै उनले चित्त समेत दुखाए। आफ्नो फिल्मबारे बाहिर हुँदै आइरहेको चर्चा अनुमानको भरमा मात्र गरिएको उनको भनाई छ।
उनले फिल्मको कथा अड्कल-बाजी गरिरहेका मिडियाकर्मी तथा फिल्मकर्मीको नाम र मिडिया आफूले डायरीमा लेखेको र उहाँहरूलाई फिल्मको प्रिमियर हेर्न आग्रह गरे।
उनले आफ्नो फिल्म अहिलेसम्म २७ वटा पुगेको र नराम्रो फिल्म बनेको भए यतिको गन्तीमा नआउने समेत बताए।
उनले भने, ‘यसो डायरी हेरेको २७ वटा फिल्म निर्देशन गरिसकेको रैछु, यति नराम्रो नै फिल्म बनाएको थिए भने त म ७ वटामा पनि पुग्ने थिइँन होला। पहिलै नै बाहिरिई सकेको हुन्थेँ होला।’
फिल्म ‘पर्खि बसे तिमीलाई’ यही पौष २७ गतेबाट रिलिज हुँदैछ। फिल्ममा किरण र रक्षाका अलवा शिव श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ।
पुष २३, २०८० सोमबार १५:१७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।