राष्ट्रिय सभामा पाँच दलको रेस : गठबन्धनले मागेजति नदिएपछि १९ सिटमै एमालेको उम्मेदवारी, मधेशमा माओवादी रित्तै

राष्ट्रिय सभामा पाँच दलको रेस : गठबन्धनले मागेजति नदिएपछि १९ सिटमै एमालेको उम्मेदवारी, मधेशमा माओवादी रित्तै

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ। फागुन २१ गतेबाट रिक्त हुन लागेको १९ राष्ट्रिय सभा सदस्य पदका लागि सरकारले माघ ११ गते निर्वाचन गर्न लागेको हो। रिक्त एक पद राष्ट्रपतिले मनोनीत हुनेछन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन अगाडि(माघ १५ गतेसम्म)नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

त्यसका लागि सोमबार मनोनय दर्ता हुँदैछ। अन्य सबै दलले आइतबार साँझसम्म नै उम्मेदवारी टुङ्गो लगाए पनि कांग्रेसले भने उम्मेदवारको सूची तयार पार्न रात कटाउने गरी बैठक बस्नुपर्यो।

राष्ट्रिय सभा निर्वाचनका लागि पाँच दलले उम्मेदवारी दिँदैछन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता  समाजवादी पार्टी।

प्रदेश र स्थानीय तहमा आफ्ना मतदाता नभएपछि राप्रपा, रास्वपा, जनमत लगायतका अन्य दलले राष्ट्रिय सभामा उम्मेदवारी दिएका छैनन्।

१९ पदमा कांग्रेसका १० उम्मेदवार
राष्ट्रिय सभामा रिक्त १९ मध्ये कांग्रेसले गठबन्धनबाट भागमा परेको १० सिटका लागि उम्मेदवारी दियो।

आइतबार राति बसेको बैठक सोमबार बिहानसम्म बसेर कांग्रेसले आफ्नो उम्मेदवार टुङ्गो लगायाे।

यद्यपि त्यसमा महामन्त्रीद्वयले लिखित असहमति जनाए। शेखर-गगन पक्षले चार सिट मागेकोमा नदिएपछि गगनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा लिखित असहमति जनाएका हुन्।

अर्का महामन्त्री शर्माले  भने समावेशिताकाे सिद्धान्त विधानमा मात्र भएको र प्रयोगमा नआएको भन्दै लिखित असहमति जनाएका हुन्।

बैठकले कोशी प्रदेशमा अन्यबाट कृष्णप्रसाद सिटौला, मधेश प्रदेशमा अन्यबाट आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशको अन्यबाट जीतजंग बस्नेत र महिलाबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिए।

यस्तै गण्डकी प्रदेशमा अपाङ्गता/अल्पसङ्ख्यकबाट पदमबहादुर परियार र अन्यबाट किरणबावु श्रेष्ठले उम्मेदवारी दिए।

लुम्बिनीमा अन्यबाट विष्णुकुमारी सापकोटा, कर्णालीमा अन्यबाट कृष्णबहादुर रोकाया तथा सुदूरपश्चिममा अपाङ्गता/अल्पसङ्ख्यकबाट नारायणदत्त भट्ट र अन्यबाट बलदेव बोहराले उम्मेदवारी दिए।

कुरो नमिलेपछि १९ सिटैमा एमालेको दाबी
उता सरकारसँग भाग माग्न पुगेको एमालाई सरकारले तीन वटा मात्र सिट दिने भनेपछि कुरा मिलेन।

अनि एमाले आफैँले १९ वटै पदमा उम्मेदवारी निर्णयमा पुग्यो र आइतबार महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर उम्मेदवारहरूको नाम सार्वजनिक गरे।

महासचिव पोखरेलका अनुसार एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला र अन्यबाट पर्शुराम अधिकारीलाई उठाउने भएको छ।

मधेशमा महिलाबाट उषादेवी थरुनी र अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत उम्मेदवार बनाउन लागेको एमालेले बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसङ्ख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनायो।

एमालेले गण्डकीमा महिलाबाट सम्झना देवकोटा, अन्यबाट चक्रबहादुर पराजुली र अपाङ्गता/अल्पसंख्यकबाट हेमन्द्र शेरचनलाई उम्मेदवार बनाउँदा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री रहेका छन्।

कर्णालीमा महिलाबाट विमलाकुमारी शाही, अन्यबाट डिल्लीप्रसाद भट्ट र दलितबाट हिक्मत विक उम्मेदवार बन्दा सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे, अन्यबाट ईश्वरीप्रसाद खरेल र अपाङ्गता/अल्पसङ्ख्यकबाट रामचन्द्र जोशी उम्मेदवार बने।

मधेशमा रित्तै माओवादी
सत्ताको बागडोर नै सम्हालिरहेको माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनको छ पदमा उम्मेदवारी दिए। प्रधानमन्त्री समेत रहेका प्रचण्डले यसअघि आठ सिट मागे पनि उनले छ सिटमा चित्त बुझाए।

मा‌ओवादी केन्द्रले कोशी प्रदेशमा महिलाबाट चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ। कोशीमा एक सिट मात्र पाएको माओवादी मधेशमा प्रदेशमा भने रित्तो भएको छ। जनता समाजवादी पार्टीलाई पनि सिट दिनुपर्ने भएकाले मधेशमा माओवादीको हात खाली भएको हो।

बागमती प्रदेशमा अन्यबाट श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा महिलाबाट मनरूपा शर्मा, लुम्बिनी प्रदेशमा अन्यबाट झक्कु सुवेदी, कर्णाली प्रदेशमा दलितबाट विष्णु विक र सुदूरपश्चिम प्रदेशमा महिलाबाट रेनु चन्दले उम्मेदवारी दिए।

दुई सिटमा खुम्चिएको एकीकृत समाजवादी
पार्टी नै खुम्चिएर सानो भइसकेको सत्ताधारी एकीकृत समाजवादीलाई सत्ता गठबन्धनका अन्य दलले हैसियत अनुसारकै सिट दिए। चार सिटबाट बार्गेनिङ थालेको एकीकृत समाजवादीले आखिरीमा दुई सिटमा चित्त बुझायो।

गठबन्धनले दिएको भाग अनुसार एकीकृत समाजवादीले बागमती प्रदेशमा दलितबाट घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनायो।

जसपाको एक सिटमा उम्मेदवारी
सत्ता गठबन्धनबाटै भाग पाएर जनता समाजवादी पार्टीले पनि राष्ट्रिय सभाको एक सिटमा उम्मेदवारी दियो।

मधेश प्रदेशमा महिलाको कोटा दिइएकोमा पार्टीले २०७९ सालको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित पूजा चौधरीलाई टिकट दिएको छ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ। यसमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन्।

राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र पालिका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुँदैछ।

यसअघि स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्यहरूको मतभार क्रमश: १८ र ४८ थियो।

जनसंख्याको पछिल्लो विवरण अनुसार मतभार तय हुने व्यवस्थाअनुसार यसपटक मतभार हेरफेर भएको हो।

पुष २३, २०८० सोमबार १५:२१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।