कोशीबाट राष्ट्रियसभाका गठबन्धन उमेदवार : दुई पटक चुनाव हारेका सिटौला देखि युद्धमा हात गुमाएकी चम्पादेवी सम्म
काठमाडौं : आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराए।
कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा सिटौलाले उम्मेदवारी मनोनयनको निवेदन दर्ता गरे लगत्तै माओवादीकी कार्कीले दर्ता गराएकी हुन्।
सिटौलाको उम्मेदवारी निवेदनमा प्रस्ताव प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन्। सुनुवार र कार्की दुवै प्रदेश सभा सदस्य हुन्।
त्यसैगरी, माओवादी केन्द्रकी कार्कीको प्रस्तावकमा प्रदेशका मन्त्री गणेशप्रसाद उप्रती र समर्थकमा प्रदेश सभा सदस्य रामकुमार खत्री छन्।
सत्ता गठबन्धनमा रहेका दलहरूबीचको सहमतिका आधारमा कोशीमा रिक्त हुने दुईमध्ये कांग्रेस र माओवादीले एक–एक सिट पाएका हुन्।
सिटौला प्रतिनिधिसभाका पछिल्ला दुई निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग लगातार पराजित नेता हुन्।
नेपाली कांग्रेस भित्र वर्तमान सभापति शेरबहादुर देउवा निकट मानिने नेता सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने चर्चा पनि सतहमा छ। सभापति देउवाको रूचिमा नेता सिटौला राष्ट्रियसभा अध्यक्ष बन्न लागेको बताइएको छ। तथापि प्रतिनिधिसभामा पुग्न पटक-पटक प्रयास गरे पनि असफल भएपछि राष्ट्रियसभा ताकेका सिटौलाबारे कांग्रेस भित्रै फरक मत छ।
अर्को तर्फ, गठबन्धनकै अर्की उमेदवार चम्पादेवी भने माओवादीको सशस्त्र विद्रोहकी घाइते योद्धा हुन्। सशस्त्र विद्रोहका क्रममा ओखलढुंगाको ब्लकिङमा खटिएकी उनको बम आक्रमणबाट दाहिने हात गुमेको थियो।
पार्टीभित्र पटक-पटक प्रयास गर्दा पनि अवसर नपाएकी चम्पादेवी प्रमुख प्रतिस्पर्धी एमालेभन्दा गठबन्धनसँग बढी मतभार रहेको कारण यसपटक भने राष्ट्रियसभामा जाने पक्कापक्की छ।
विराटनगरमा उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चम्पादेवीले भनिन्, ‘म यसअघि संविधानसभाको दुई वटै निर्वाचन र प्रतिनिधिसभाको गत निर्वाचनमा समानुपातिक उमेदवार थिए तर तीनै पटक मेरो नाम बन्द सूचीमै सीमित रह्यो।’
पुष २३, २०८० सोमबार १४:२५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।