लगातार चौथो कार्यकाल प्रधानमन्त्री बन्दै शेख हसिना
एजेन्सी : विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकाल प्रधानमन्त्री बन्ने भएकी छन्।
शेख हसिनाको पार्टी अवामी लिग र उनका सहयोगीहरूले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितेका छन्। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन स्थगित भएको छ।
देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र उनका सहयोगीहरूले यो निर्वाचन बहिष्कार गरेका छन्। यस कारण शेख हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ।
बीएनपीले मतदान देखाउनका लागि मात्र गरिएको आरोप लगाएकाे छ।बीएनपीका नेता र उनीहरूका समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आइतबार मतपरिणाम घोषणा गरिएको थियो।
निर्वाचनको नतिजा सोमबार औपचारिक रुपमा घोषणा हुने बताइएको छ। आधिकारिक तथ्याङ्कले निकै कम मतदान भएको देखाएकाे छ। तथ्याङ्कमा जम्मा ४० प्रतिशतमात्र मतदान भएको उल्लेख छ।
स्वतन्त्र उम्मेदवारले ४५ सिट जितेका छन्। यी स्वतन्त्रहरू पनि अवामी लिगकै रहेको बताइएको छ। जातीय पार्टीले पनि आठ सिट जितेको छ।
पहिलोपटक सन् १९९६ देखि २००१ सम्म बंगलादेशको प्रधानमन्त्री भएकी शेख हसिना त्यसपछि २००९ देखि २०१४, २०१४ देखि २०१९ र २०१९ देखि २०२४ सम्म प्रधानमन्त्री भएकी छन्।
अब २०२४ देखि २०२९ सम्म उनी नै बंगलादेशको प्रधानमन्त्रीको रूपमा रहनेछिन्।
पुष २३, २०८० सोमबार ०८:५३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।