सत्ताधारी घटकमध्ये माओवादी र जसपाले टुङ्ग्याए राष्ट्रिय सभा उम्मेदवार, कांग्रेसमा किचलो

सत्ताधारी घटकमध्ये माओवादी र जसपाले टुङ्ग्याए राष्ट्रिय सभा उम्मेदवार, कांग्रेसमा किचलो

काठमाडौँ : सत्ता गठबन्धनको बैठकमा १९ सिटमा भागबन्डा मिलेसँगै दलहरू पार्टीका उम्मेदवार चयनमा जुटेका छन्। राष्ट्रिय सभामा रिक्त १९ मध्ये आफ्नो भागमा परेको ६ सिटका लागि माओवादी केन्द्रले उम्मेदवार चयन गरेको छ।

आइतबार पदाधिकारी बैठक बसेर ६ जनाको नाम चयन गर्दा द्धन्द्धकालको घाइतेदेखि यस अगाडि संविधान सभाको सदस्य भएकासम्म परेका छन्। उता जनता समाजवादी पार्टीले आफ्नो भागमा परेको एक सिटका लागि पूजा चौधरीको नाम तय गरेको छ। अन्य दल भने छलफलमै छन्।

माघ ११ राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सिटमा निर्वाचन हुँदैछ। पुस २३ सोमबार उम्मेदवारको मनोनयनहुँदैछ।

माओवादीको पदाधिकारी बैठकले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम तय गरेको हो।

चयन भएकामध्ये झक्कु र रेणु पहिलो संविधान सभामा निर्वाचित सदस्य हुन्। काठमाडौँ-२ मा माधव नेपाललाई हराएर झक्कु निकै चर्चामा समेत आएका थिए। त्यसपछि भने उनी हराए। चन्द  बैतडी क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचित भएकी थिइन्।

चम्पादेवी माओवादीको समानुपातिक सूचीमा पटक-पटक पर्दा पनि सांसद बन्न नसकेकी नेतृ हुन्। उनी माओवादीको सशस्त्र द्वन्द्वमा होमिएकी थिइन्। श्रीकृष्ण सशस्त्र द्धन्द्धताकाका घाइते हुन्। मनरुपा राज्य पक्षबाट द्धन्द्धपीडित भएकी एकल महिला हुन्। विष्णु पनि सशस्त्र द्धन्द्धताकादेखि नै माओवादीमा संलग्न थिए। उनी केही समय मोहन वैद्यसँग लागे पनि पछि पार्टीमा फर्किएका थिए।

कांग्रेसभित्र राष्ट्रिय सभाको उम्मेदवार चयन पेचिलो बनेको छ। कांग्रेसको भागमा १० सिट परेको थियो। कृष्ण सिटौलाको नाम पक्का भएको छ। अन्यको नाम तय भएको छैन। शेखर-गगन समूहले आफ्नो समूहका लागि न्यूनतम चार सिट नदिए मनोनयनै नगर्ने चेतावनी दिएका छन्। उता एकीकृत समाजवादी पनि छलफलमै देखियो।

पुष २२, २०८० आइतबार २०:२७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।