डा. रोशनको सुख-दुख : डा. मधुरदेवले आत्तिँदै भने‘डाक्टर सा'प वीर अस्पताल त कोल्याप्स भइसक्यो होला!’

डा. रोशनको सुख-दुख : डा. मधुरदेवले  आत्तिँदै भने‘डाक्टर सा'प वीर अस्पताल त कोल्याप्स भइसक्यो होला!’

रोशन कुमार झा पेसाले चिकित्सक हुन्। सशस्त्र प्रहरी अस्पतालमा कार्यरत  उनको विशेषज्ञताको दृष्टिले कन्सल्टेन्ट फिजिसियन हुन्। महोत्तरीको तत्कालीन बथनाह गाविस (हालको मनरा सिसवा)मा २०३५ जन्मिएका उनले यो विचमा भूकम्प अनि कोरोनाको कहरमा खटिने मौका पाए।

सामान्य परिवारका सदस्य उनी अहिले सशस्त्र प्रहरी अस्पतालमा कार्यरत छन्। उनले चिकित्सकीय पेसाको सिलसिलामा देखे भोगेका केही प्रसङ्ग उकेरासँग साटे :

OOO

२०७२ को भुकम्पको त्यो चित्कार 

२०७२ वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्प गएको वर्ष डा. रोशन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठामा एमडी तेस्रो वर्षमा अध्ययनरत थिए।

भूकम्प गइरहेको दिउँसोको समयमा रोशन सोल्टी होटेलमा चिकित्सकहरूको  कार्यक्रममा थिए। कार्यक्रम सकेर खाना खाने समय हुन लागेको थियो, भूकम्प गइहाल्यो। त्यसपछि सबैको भागाभाग भयो।

भाग्दै होटेलको बाहिर निस्किएपछि उनका गुरु डा. मधुरदेव भट्टराईले डा. रोशनलाई आत्तिँदै भनेछन्,‘डाक्टर सा'प वीर अस्पताल त कोल्याप्स भइसकेको होला।’

डा. रोशन झसंग भए। उनी र उनका कक्षाका चार जना साथी सोल्टी होटेलबाट हिँड्दै वीर अस्पतालतर्फ लागे। बाटोमा  कोलाहल थियो। डा. रोशनसहित वीरमा भुकम्पका घाइते मृतकको शवले कोलाहल थियो।

पराकम्प आउनेक्रम जारी थियो। डा. रोशन अस्पतालको माथिल्लो तलामा गएर लकरबाट एप्रोन निकालेर लगाए अनि आकस्मिक कक्षमा झरे। घाइते र मृतकका कारण आकस्मिक कक्ष क्षेत्र कोचाकोच समान थियो। चिकित्सकको टिम भेला हुँदै गयो। घाइतेको उपचार गर्ने, मृतकको शव अर्कोपट्टि राख्ने काम सुरु भयो। 

त्यो बेला ट्रमा सेन्टर बनिसकेको थियो तर सञ्चालनमा आएको थिएन। वीरको भवन पुरानो, ट्रमाको नयाँ। अर्को विपद् नआओस् भनेर वीरका बिरामी र घाइतेलाई चिकित्सक तथा स्वास्थ्यकर्मी मिलेर ट्रमा सेन्टरको भवनमा सारे। घाइतेको उपचार व्यवस्थापन गर्दा-गर्दै बेलुकाको छ बजिसकेको थियो। 

घरमा फोन गरे। सबै सुरक्षित रहेको सुनेपछि ढुक्क भए तर घर गएनन्। भोलिपल्ट बेलुका  घर पुग्दा परिवारका सदस्य घर बाहिरै बसेका थिए। केही बेर भेटेर उनी वीर अस्पताल नै फर्केर उपचारमा लागे।

भोलिपल्ट बिहान अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या बढ्यो। अस्पतालको  ड्युटी सकेर उनी टुँडिखेलतर्फ लागे। टुँडिखेलमा पनि घाइतेहरू थिए। उनले त्यहाँका बिरामीलाई औषधि उपचार चाहिने जस्तो देखे।

तर, डा. रोशनसँग खल्तीमा पाँच सय रुपैयाँ मात्रै थियो। त्यही पाँच सयमध्ये तीन सय ५० रुपैयाँको डा. रोशनले घाइतेका लागि दुखाई कम गर्ने र बान्ता रोक्ने औषधि किनेर झोलामा बोके। अनि वीर अस्पतालबाट एउटा कुर्सी र एउटा टेबल लिएर टुँडिखेलमा रहेका घाइतेलाई औषधि दिन थाले।

तीन जना विदेशी नागरिक उनले टुँडिखेलमा औषधि बाँडिरहेको ठाउँमा आए। एक जनाले ‘हामी तपाईँलाई के सहयोग गर्न सक्छौँ?’ भनेर सोधे।

‘सक्नुहुन्छ भने केही औषधि किनेर ल्याइ दिनुहोस् भनेँ अनि’उपचारका लागि आवश्यक केही औषधिको नाम लेखेर दिएँ' उनले भने।

केही समयपछि ती विदेशी चार झोला औषधि बोकेर आए। अनि सैनिकमञ्चको एउटा कुनामा बसेर आवश्यकता अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था हेर्दै औषधि दिए।

टुँडिखेल तथा खुलामञ्चमा राखिएको स्वास्थ्य शिविरमा उनका चिकित्सक साथीहरू समेत थपिए। अस्पतालको ड्युटीको समयमा उनी अस्पतालमा काम गर्थे। बाँकी समयमा टुँडिखेलमा हुन्थे।

डा. रोशनले टुँडिखेलमा नै घाइतेको उपचार गरिरहेको विषय उनका एक साथीका दाइले थाहा पाएछन्। त्यसपछि बेलायतको लन्डनमा व्यवसाय गर्ने ती साथीको दाइले फोनमा भूकम्प प्रभावितको सहयोगका लागि राहत पठाउने बताउँदै सहयोग मागे। रोशनले पनि हुन्छ भने।

केही दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत आइपुग्यो। राहत कल्पना गरेकोभन्दा निकै थियो रे। दुई ट्रक सामान थिए। अब ती सामग्री कहाँ राखेर, कसरी वितरण गर्ने? उनलाई तनाव भयो।

डा. रोशनले सशस्त्र प्रहरीका तत्कालीन प्रमुख कोषराज वन्तलाई फोन गरेर राहत कसरी व्यवस्थापन गरेर वितरण गर्न सकिन्छ भनेर सल्लाह लिए। वन्तले सामग्री लिन दुई वटा ट्रक विमानस्थलमा पठाइदिए। ती सामान सशस्त्र प्रहरी अस्पताल लगियो।

भूकम्प गएपछि सडकमा आइपुगेकाहरूको व्यवस्थापनका लागि पकाउने, तुल्याउने, खाने, बस्ने लगायत प्याकेजमा नै आवश्यक राहतका सामग्री पठाइएको रहेछ। ती पठाइएका सामग्री आवश्यकता अनुसार वितरण गरिएको डा. रोशनले सुनाए।

दुई पटक गरेर बेलायतमा भएका साथीका दाइले चार करोड बराबरको सामग्री भूकम्प प्रभावितलाई पठाएको डा. रोशनले सुनाए।

कोरोनाको त्यो कहालीलाग्दो अवस्था

कोरोना भाइरस सङ्क्रमणको सुरुवाती दिनमा कोरोना सङ्क्रमितको कसरी उपचार गर्ने भन्ने पनि यकिन प्रोटोकल बनिसकेको थिएन। सङ्क्रमणको डरको अवस्था थियो।

तर, कोरोना भाइरसको सुरुवाती चरणमा नै क्लिनिकमा फ्लु क्लिनिक सुरु भएको थियो। सिसाको बार लगाएर बिरामीको स्वास्थ्य जाँच गरेको दृश्य उनी अहिले पनि सम्झन्छन्। 

त्यो बेला अवस्था कहालीलाग्दो थियो। सङ्क्रमित बिरामीको उपचारमा खटिनु युद्ध मैदानमा खटिए समान थियो। उनी सिपाही समान। कोरोना सङ्क्रमणको समयमा उनी सशस्त्र प्रहरी अस्पतालमा खटिएका थिए। 

उनका परिवारका अधिकांश सदस्यलाई कोरोना भाइरस सङ्क्रमण भयो। परिवारका सदस्य सङ्क्रमित हुँदा तनाव नहुने कुरै भएन। तर, अस्पतालबाट निस्कन सक्ने अवस्था थिएन। सरकारले एपिएफ अस्पताललाई पनि कोरोनाको उपचारका लागि डेडिकेटेड अस्पताल तोकेको थियो। 

'बाँच्दिन' भनेका ती अधिवक्ता बाँचेपछि...

कोरोनाको दोस्रो चरणमा करिब ४२ वर्षका एक कोरोना सङ्क्रमित अधिवक्ताको उपचार गरेको प्रसङ्ग डा. रोशन सम्झिरहन्छन्। ती अधिवक्ता कोरोना सङ्क्रमित भएर शिथिल भएपछि अस्पताल पुगेका थिए। कोरोना भाइरसका कारण निमोनिया भइसकेको थियो। स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। आन्द्राबाट आन्तरिक रूपमा रक्तस्राव भइरहेको थियो।

ती अधिवक्तालाई दैनिक २० लिटर भन्दा बढी अक्सिजनको आवश्यकता थियो। एक दिन ती अधिवक्ताले सकिनसकी डा. रोशनलाई भनेछन्, ‘म त बाँच्दिन डाक्टर सा'प।’ डा. रोशनले ‘बाँच्नु हुन्छ, आत्तिनु पर्दैन’ भन्दै सम्झाए।

बिस्तारै ती अधिवक्ता ठिक हुँदै गए। उनको ज्यान बाँच्यो। अस्पतालबाट डिस्चार्ज हुँदा ती अधिवक्ता चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति निकै कृतज्ञ भएका थिए। ती अधिवक्ता अहिलेसम्म पनि फलोअपमा रहेको उनले सुनाए।

मनमा खट्किने ३५ वर्षे युवाको त्यो मृत्यु

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी अध्ययन गर्दाको एउटा घटनाले डा. रोशनलाई घोचिरहने रहेछ। करिब ३५ वर्षका ती युवालाई वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो। ती युवा कारागारमा राखिएका कैदी थिए। प्रहरीको साथमा ती युवा हिँडेरै अस्पताल भित्र छिरेका थिए। त्यो बेला डा. रोशन पनि अस्पतालको आकस्मिक कक्षमा नै  थिए। छाती दुख्यो भनेर युवालाई अस्पताल पुर्याइएको थियो।

चिकित्सकको टिमले इसिजी लगायतको स्वास्थ्य परीक्षण गर्दै उपचार सुरु गर्यो। इसिजी गर्दागर्दै बिरामीलाई श्वास फेर्न गाह्रो भयो। तुरुन्तै युवाको सिपिआर गरियो। चिकित्सकको  टिमले बचाउन हर प्रयास गर्यो तर सकेनन्।

उपचार थालेको केही मिनेटमै ‘म्यासिभ हर्ट एट्याक’ का कारण उनको मृत्यु भयो। 

एमबिबिएसपछि सशस्त्रमा जागिरे

डा. रोशन महोत्तरीको तत्कालीन बथनाह गाविस (हालको मनरा सिसवा)मा २०३५ जन्मिएका हुन्। सामान्य परिवारमा जन्मिएका उनका बुवा जनकपुरमा मेकानिकल ओभरसियर भएकाले रोशनले शिक्षादीक्षा जनकपुरमा नै भयो।

रोशनले जनकपुरको सरस्वती माविमा एक कक्षामा भर्ना भएर त्यहीँबाट एसएलसी गरे। जनकपुरकै रामस्वरुप राम सागर बहुमुखी क्याम्पस (राराब)बाट आइएस्सी गरे। रोशनमा  डाक्टर बन्ने ठुलो सपना थियो। उनले अध्ययनको तयारी सुरु गरे।

नभन्दै उनले छात्रवृत्ति कोटामा नै एमबिबिएस अध्ययन गर्ने मौका पाए। रोशन सन् २००० मा त्रिवि अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा एमबिबिएस अध्ययनका लागि भर्ना भए। सन् २००६ उनको एमबिबिएस अध्ययन पूरा भयो। अध्ययन गर्दा नेपाली र अङ्ग्रेजी दुवै भाषामा निकै मेहनत गर्नु परेको उनले अनुभव सुनाए।

एमबीबीए अध्ययनपछि डा. रोशन धादिङको सहिद मेमोरियल नामक निजी अस्पतालमा काम गर्न पुगे। त्यो अस्पतालमा आफूले पहिलो चिकित्सकको रूपमा काम गरेको उनले अनुभव सुनाए। त्यहाँ करिब ६ महिना काम गरेपछि उनी त्रिवि शिक्षण अस्पतालमा नै फर्केर हार्डजोर्नी विभागमा करार जागिरे मेडिकल अधिकृतका रूपमा करिब एक वर्ष काम गरे। शिक्षण अस्पतालपछि करिब एक वर्ष वीपी स्मृति अस्पतालमा काम गरे।

त्यसपछि डा. रोशन २०६७ मा सशस्त्र प्रहरी अस्पतालमा मेडिकल अधिकृतका रूपमा जागिरे भए। जागिरको सुरुवातमा उनको तह इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक) थियो। स्टेथेस्कोप चलाउने पेसा भए पनि अर्ध सैनिक बलको सदस्य भएपछि हतियार चलाउन पनि जान्नै पर्यो। आधारभूत फौजी तालिम लिए। 

तालिम सकिएपछि उनी संयुक्त राष्ट्रसङ्घ (युएन)को ‘पिस किपिङ मिसन’ अन्तर्गत पश्चिम अफ्रिकाको लाइबेरियाका लागि छनोट भए। त्यहाँ उनले करिब नौ महिना काम गर्ने मौका पाए। दोस्रो पटक पनि उनी लाईबेरियामा नै ‘पिस किपिङ मिसन’मा सहभागी हुन प्रहरी अस्पतालले खटायो। दोस्रो पटक पनि करिब नौ महिना काम गरेर उनी नेपाल फर्किए।

एमडी गरेपछि एसपी

डा. रोशनलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्नातकोत्तर तहको इन्टरनल मेडिसिन विषयमा एमडी अध्ययन गर्न थाले। आठ वर्ष अघि सन् २०१५ मा उनको तीन वर्षे इन्टरनल मेडिसिन विषयको एमडी अध्ययन पूरा भयो।

उनको अध्ययन यतिमा मात्रै रोकिएको छैन। डा. रोशनले भारतमा गएर केही महिना मुटु रोग सम्बन्धी ज्ञान तथा सीप सिकेका छन्। ताइवानमा पुगेर उनले केही महिना कार्डियोलोजी र क्रिटिकल केयर सम्बन्धी ज्ञान लिएका छन्। त्यसैगरी, अमेरिकामा पुगेर मुटुरोगबारे इको–कार्डियोग्राफी सम्बन्धी ज्ञान तथा सीप सिके। उनले यसरी ज्ञान तथा सीप सिक्दै चिकित्सकीय पेसा गरिरहेका छन्।

विशेषगरी इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रूपमा बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि, उपचार गर्नु डा. रोशनको दैनिकी हो। डा. रोशन अहिले एसपीमा रूपमा कार्यरत छन्।

२१ पुस, २०८०, २१:३९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।