फिल्म ‘चित्रा’का निर्माता/अभिनेता सन्तोष अधिकारीको फिल्मी अनुभव : निर्माता बन्दा दुलहीको बाउ जस्तो, कलाकार हुँदा ज्वाइँ जस्तो
केही फिल्ममा सह-निर्माताको अनुभव बटुल्दै अभिनेताका रुपमा होमिएका फिल्मकर्मी हुन् सन्तोष अधिकारी। उनले यस अघि फिल्म ‘आमा’, ‘घर’ र ‘तीन जन्तु’ फिल्ममा सह-निर्माताको रुपमा काम गरेका छन्।
सोही अनुभवलाई बटुल्दै उनले फिल्म ‘चित्रा’ निर्माण गरे। त्यति मात्र होइन, यस् फिल्ममा उनले मुख्य भूमिकामै अभिनय गरेका छन्। त्यसैले पनि पैसा लगानी गरेकै कारण फिल्ममा अभिनय गर्न पाएको भन्ने आरोपबाट उनी भाग्न सकेका छैनन्।
फिल्म ‘चित्रा’ प्रदर्शनको सँघारमा छ। यही २७ गतेबाट हलमा लाग्ने तयारीमा रहेको फिल्मका बारेमा अभिनेता तथा कार्यकारी निर्माता सन्तोष अधिकारीसँग उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :
फिल्मको प्रचारप्रसार कत्तिको भइरहेको छ?
चित्राको प्रमोसन राम्रै भइरहेको छ। म पनि पहिलोपटक अभिनेता भएँ। त्यसैले सुने र जाने अनुसार सतप्रतिशत समय दिइरहेको छु।
प्रमोसन जति हुनुपर्ने हो त्यति भएको देखिएन, किन होला?
मैले गर्ने लेभलबाट अथाह प्रयास गरेको छु। बाहिर कसरी मूल्यांकन भइरहेको छ थाहा भएन। सबैले सपोर्ट गरेर हुने कुरा हो। हेर्नुस्, एक हातले ताली बज्दैन।
तथापि हाम्रो टिमले हामीले गर्नुपर्ने जति मेहनत गरिरहकै छौँ। अरू त दर्शकले मूल्याङ्कन गर्नुहुने कुरा न हो।
तपाई बाहेक शुभेक्षा खड्का, मेनुका प्रधान, अन्जना बराईली लगायतका कलाकारले साथ दिएको देखिएन। कि मनमुटाब पर्या हो?
हैन, हैन। त्यस्तो केही पनि भएको छैन। सबै जनाको आफ्नो आफ्नो व्यस्तता हुन्छ। अनि एकजना बाहिर जानुभएको छ। अर्को कलाकार मेनुकाजीले ८ तारिखबाट समय दिन्छु भन्नुभएको छ। एकजना साथी विरामी हुनुहुन्थ्यो। प्रमोद अग्रहरी त हामीसँगै प्रमोसनमा हिँडिरहनु भएको छ।
उहाँहरू फिल्म प्रमोसनमा नहिँडेको देख्दा चाहिँ मनमुटाब भएको जस्तो देखियो।
देखिएको छ र? तपाईँले मलाई देखिरहनु भएकै छ। मैले र मेरो प्रोडक्सन टिमले गर्नु पर्ने कुराहरू पनि गरिरहेको छ। जहाँ सम्म उहाँहरूको कुरा छ, उहाँहरूको विवेक र व्यक्तित्वले गर्ने कुरा हो।
केही फिल्ममा सह-निर्माताको रुपमा काम गरिसकेपछि अब कति अरूलाई मात्र लगानी गर्ने भनेर आफै चित्रामा खेल्नु भएको हो?
मैले पहिला पनि भनेँ। म फिल्ममा आउँदा एक्टर नै भएर आउँछु भनेर आएको हो। म त्यही अनुसार नै तयारीमा रहेको थिए। मेरो तयारी २ वर्ष कोरोनाले खायो, त्यो भन्दा अघि अन्य विविध कुरा भयो। यो स्टोरी मेरो युकेबाट फर्किएपछि देखिको हो। मेरो चाह पुरा गर्छु भनेर आएको हो।
यो फिल्डमा मान्छे चिनिँदैन, बुझिँदैन। मान्छे चिनिँनका लागि काम गर्दै जानुपर्छ, त्यो सबैलाई थाहा भएकै कुरा हो।
अनि यो फिल्ममा मलाई अलिकति हेल्प गरौँ भनेर कुरा आएपछि ल न त भनेर म सपोर्टरका रुपमा मात्र म गएको हो, सह-निर्माता भएर।
सह-निर्मातामा एउटा नभएर अर्कोमा गएँ, तानिँदै-तानिँदै अरूमा पनि गएँ। अनि टिम चिनजान भए पछि लौन हामी पनि ल सपोर्ट गरौँ भन्ने खाल्को कुरा भएपछि निर्माताको रूपमा गएँ।
मलाई अहिले पनि थाहा छ, तीनजन्तु भन्ने फिल्ममा म कलाकार हुन्छु भन्ने कुरा राखेको थिएँ। घर र आमा भन्ने फिल्ममा चाहिँ मैले प्रस्ताव राखेको थिइँन।
अनि तीनजन्तुमा काम गर्नका लागि मैले भ्याइँन पनि र मलाई मिल्ने क्यारेक्टर पनि देखिँन। नदेखे पछि ठिकै छ उहाँहरूले खेल्नुभएको छ, बनाउनु भा'को छ, निस्केको छैन। अब निस्कने कोसिस भइरहेको छ।
जति म चित्रामा सतप्रतिशत छु, भोलि परिमाण नआएको खण्डमा पनि म जवाफदेही हुन्छु। तर ती फिल्महरूमा म त्यति जवाफदेही छैन।
निर्माता र हिरो बन्दाको अनुभव कस्तो हुँदो रहेछ, सुनाइ दिनुहोस् न?
निर्माता बन्दाखेरि दुलहीको बाउ जस्तो बनिँदो रहेछ भने कलाकार हुँदाखेरि चाहिँ ज्वाइँ जस्तो भइन्छ। कति कुरा सहज-सहज। हाम्रोमा कति निर्माताहरूको कम्पनी नै छ। २/३ जना मान्छे अझै इनभल्व हुनुहुन्छ। त्यति हुँदा पनि म पछाडिबाट हेर्ने, हिँड्ने, रेखदेख गर्ने गरिरहेको हुन्छु। उहाँहरू नै आत्तिनु हुन्छ।
निर्माताहरू पटक-पटक भगवान पुकार्नुहुन्छ। किनकि निर्माता भेरी-भेरी हार्ड।
अभिनय यात्रामा निरन्तर लाग्नुहुन्छ कि अब रहर पूरा भयो?
मेरो त भेरी-भेरी कन्टिन्यु हो। अब ब्याक टु ब्याक फिल्म खेल्छु। तपाईँले एक/दुई दिनमा नै थाहा पाउनुहुन्छ अर्को फिल्मको घोषणा।
यो प्रोजेक्ट नआइकन नै अर्को घोषणा नगरौँ भनेर हो। यो फिल्म रिलिज भएपछि अर्को घोषणा हुन्छ।
पैसाले हिरो बनेको हो भन्ने आरोप पनि लाग्न थालेको छ नि तपाईँलाई?
यो युनिभर्सल आरोप हो। यो सबैलाई लाग्ने आरोप हो जस्तो लाग्छ।
उमेरको कुरा गर्ने हो भने ४० काटिसक्नु भएको छ। ४० काटेपछि नै हिरो हुने जोस किन?
त्यो भन्दा अगाडि भ्याइँन वा भनौँ सकिँन। म पनि एउटा साधारण परिवारबाट आएको केटा हो। मेरा पनि धेरै मूल्य मान्यताहरू थिए।
म सानो उमेरमा नै परदेश जानुपर्ने भयो, गएँ र आएँ पनि। मेरो श्रीमती अनि छोराले सपोर्ट गरेर लु गर न त भनेपछि म यो फिल्डमा आएको हो। उहाँहरूले ब्याक सपोेर्ट गर्छु भन्दा खेरि मैले किन नगर्ने भनेर आएको हुँ।
सबैको सपना हुन्छ। कसैले छोडिदिन्छ तर मैले बीचमै छोडिँन। र, अहिले यहाँ छु।
अभिनयका लागि प्यासन मात्र भए पुग्छ कि ज्ञान पनि चाहिन्छ?
अभिनयका लागि डेफिनेट्ली ज्ञान चाहिन्छ। ज्ञानका लागि अध्ययन गर्नुपर्छ। अध्ययनशिल हुनैपर्छ।
अध्ययन भन्ने बित्तिकै कलेज जानुपर्छ भन्ने छैन। तपाईँले बाहिरी अध्ययन पनि लिन सक्नुहुन्छ। त्यसका लागि विभिन्न प्लेटफर्महरू छन्।
प्यासन भएपछि ती कुराहरूका लागि के के चाहिन्छ त?
पढ्न मात्रै पर्दैन। एक्टिङ प्राक्टिसका लागि गर्नुपर्ने कुरा गर्नुपर्ने हुन्छ। जुन मैले जिन्दगीमा धेरै कुरा सिकेर आइसकेको छु। यस बारेमा बारम्बार भन्दै पनि आइरहेको छु। जुन कुरा लिनुपर्ने हो लिएको छु। स्कुलिङ लिएको छु। जिम भन्नु हुन्छ भने त्यो पनि लिएको छु। जे भन्नुहुन्छ सबै कुरा लिएको छु। डान्स मात्र मैले लिएको छैन। जानेको छैन।
चित्रा कस्तो फिल्म हो?
यो फिल्ममा सन्तोष अधिकारीलाई यो उमेरमा आउँदा खेरी सुट गर्ने क्यारेक्टर छ। यसमा मैले ड्याडीको भूमिका गरेको छु। ड्याडीको भूमिका भइसकेपछि हिरो भनिन्छ या कलाकार भनिन्छ, मलाई शब्दतिर जान मन लाग्दैन।
हाम्रो नेपालमा हिरो भन्ने बित्तिकै नाच्ने, मेन क्यारेक्टर निर्वाह गर्ने भन्ने बुझिन्छ। तर चित्रामा त्यस्तो स्पेश नै छैन। यो स्टोरी यसरी नै बगेको छ।
बुबाको भूमिका निवार्ह गर्दा कतिको सहज या अप्ठ्यारो के हुने रहेछ?
बुबा बन्नका लागि तपाईँले बच्चाहरूलाई माया गर्नुभएको छ भने गाह्रो हुँदैन।
म तपाईँलाई के सम्झाउन चाहन्छु भने मैले बिहे गरेको धेरै समयपछि बच्चा जन्माएको हो। ८ वर्षपछि।
मलाई के लाग्थ्यो भने ८ वर्ष अघि सम्म मैले बच्चा जन्माउँछु भन्दा नो नो भन्थेँ। घरमा पनि बुबा आमाले जन्माउन जोड दिइरहनु हुन्थ्यो। त्यसमा म नो नो हुँदैन भन्थेँ।
म र मेरो श्रीमती बच्चा नहुँदैमा पनि खुशी थियौँ।
तर जब मेरो ठूलो छोरो लाइफमा आयो कि त्यति बेला सारा संसार नै यही हो जस्तो लाग्यो। ड्याडी भइसकेपछि छोरोको माया हुँदो रहेछ के।
यसरी बुझ्नुस्, म गुड ड्याड हुँ। म बच्चाहरूसँग एकदमै घुलमिल हुन्छु। त्यस कारण पनि यो क्यारेक्टर गर्न एकदम सहज भयो। फिल्ममा मेरो छोरीको क्यारेक्टर गर्ने आयुसीसँग अभिनय गर्दा पनि सेम फिलिङ्स रह्यो। त्यही भएर मलाई बुबाको क्यारेक्टर निर्वाह गर्दा गाह्रो भएन।
अन्तमा, यो फिल्ममा हेर्ने पर्ने कुनै कारण छ?
धेरै समयपछि बाउ छोरीको कथामा फिल्म निर्माण भएको छ। तपाईहरूले चिनेकै कलाकारहरू हुनुहुन्छ। अर्पण थापा, मेनुका प्रधान, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ। बाल कलाकारमा आयुशी, हाम्रो उज्जल भाई लगायत हुनुहुन्छ।
यो फिल्मले बाबु छोरी र पारिवारिक घटनाहरूलाई समेट्ने कोसिस गरेका छौँ। फिल्म इमोशन, द्धन्द्ध, माया प्रेम सबै भएको कम्प्लेट प्याकेजमा बनेको छ। दर्शकहरू हलमा गएर निराश भएर फर्कनु पर्दैन भन्ने कुरामा हामी एकदम कन्फिडेन्ट छौँ।
पुष २१, २०८० शनिबार १६:११:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।