अस्पताल माग्न जाँदा गोली खाएर मारिनु दुखद, सप्तरी घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले शुक्रबार सर्लाहीको बरहथवामा भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनामा सत्यतथ्य छानबिन गर्न माग गरेको हो।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य-तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’
हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल समेत गरेको छ।
पुष २१, २०८० शनिबार १२:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।