आफ्नै गीत रिलिज कार्यक्रममा अनुपस्थित आर्यन र केकी, ढिला आइन् अनु

आफ्नै गीत रिलिज कार्यक्रममा अनुपस्थित आर्यन र केकी, ढिला आइन् अनु

काठमाडौं : केही दिन अघि देखि आर्यन सिग्देल र केकी अधिकारीको उपस्थितिमा ‘तिमी छौ र मेरो मुटु चलेको’ गीतको भिडियो रिलिज कार्यक्रम शुक्रबार गर्ने भनिएको थियो।

केकी र आर्यन आउने भएपछि अधिकांश पत्रकार अनामनगरको सिलौटो कटेजमा समयमै पुगेका थिए।

कार्यक्रम २ बजे भनिएता पनि निर्धारित समयमा कार्यक्रम सुरू भएन। १ घण्टा ढिला गरेर कार्यक्रम सुरू भयो। कार्यक्रमको प्रस्तोता थिए विश्व लिम्बू।

तर, कार्यक्रममा आर्यन र केकी नै अनुपस्थित रहे।

यता, गीतकी गायिका अनु चौधरी पनि अबेला आइन्। उनी कार्यक्रममा उपस्थित हुँदा चार बजिसकेको थियो।

उपस्थित भएका पत्रकार आर्यन र केकीको पर्खाइमा थिए। केही भने आज गतिलो कन्टेन भएन भन्दै कार्यक्रम हलभन्दा बाहिर थिए। 

केकी र आर्यन नआएपछि गायिका अनु चौधरीसँग कुराकानी गर्न चाहेका युटुबरलाई उनले अन्तर्वार्ता नदिने भन्दै तर्किइन्। गायिका चौधरीले आफूले मेकअप नै नगरी आएकाले आज अन्तवार्ता नगरौँ है भन्दै पन्छिइन्।

कार्यक्रममा उपस्थित भएका डा. कृष्णहरि बरालले आफ्नो गीत रचना भएको हुनाले आफ्ना भनाई राखे। गीत राम्रो बनेको भन्दै उनले गायक मञ्जिल राई र अनु चौधरीको तारिफमा समय खर्चिए।

क्यामेरा अन गरेर बसेका अधिकांश युटुबरले कार्यक्रमको अन्तिम समयसम्म पर्खेर गीतकार र गायकको भनाई खिचेर फर्किए। आयोजकले केकी र आर्यनको व्यस्तताको कारण आउन नसकेको जानकारी गरायो।

यो गीतको भिडियोलाई मुन्दुम स्टुडियोले निर्माण गरेको हो।

पुष २१, २०८० शनिबार १२:१४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।