राष्ट्रिय सभा निर्वाचनको रस्साकस्सी, सहमति नभई पार्टी जुटे उम्मेदवार छान्न, एमालेले १९ सिटमै उम्मेदवारी दिने

राष्ट्रिय सभा निर्वाचनको रस्साकस्सी, सहमति नभई पार्टी जुटे उम्मेदवार छान्न, एमालेले १९ सिटमै उम्मेदवारी दिने

काठमाडौँ : दलहरूबिच राष्ट्रिय सभामा रिक्त १९ सिटका भागबन्डा मिलिसकेको छैन। प्रमुख प्रतिपक्षी र प्रतिपक्षीसमेत मिलेर राष्ट्रिय सभालाई एक दलीय समान बनाउने छलफल जारी छ।

प्रमुख प्रतिपक्षी एमाले अनि प्रतिपक्षी राप्रपा त के,सत्ताधारी दलहरूबिच नै भागबन्डा मिलिसकेको छैन। दलहरूबिच आ-आफ्नो सांसदको अवधि सकिने सिटमा आफ्नै दलको उम्मेदवार र एमालेको सिट बाँड्ने सहमति भएको थियो। तर कुन दललाई कति सिट भन्ने पक्षमा सहमति हुन सकेको छैन।

सत्ताधारी दलहरूसँगको छलफल टुङ्गोमा नपुगेपछि एमाले १९ वटै सिटमा उम्मेदवारी दिने तयारीमा छ। एमालेले आफ्नो पार्टीको रिक्त हुने ८ मध्ये ६ सिट मागेको थियो। माओवादी केन्द्र र नेपाली कांग्रेससहित तीन सिट दिन तयार भए पनि एकीकृत समाजवादी एमालेसँगको सहकार्यकै विपक्षमा उभियो।

सङ्केत सुखद नदेखेपछि शुक्रवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरिसकेको छ।

सोमबार उम्मेदवारी दर्ता गर्नु पर्ने भएकाले यता कांग्रेस पनि उम्मेदवार छनौटमा जुटेको छ। राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छान्न आज शनिवार  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

कांग्रेसले यस अगाडि नै पार्टीलाई लामो समयदेखि योगदान पुर्याएको तर कुनै अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा लैजान प्राथमिकता दिने निर्णय गरिसकेको छ। निर्वाचन हारेका नेताहरू राष्ट्रिय सभा जान लबिइङमा देखिन्छन्।

शनिवारै एकीकृत समाजवादीको पनि सचिवालय बैठक बस्दैछ। बैठकको अजेण्डा राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाउने हो। माओवादी केन्द्रले समेत उम्मेदवार चयनका लागि आन्तरिक गृहकार्य गरिरहे पनि उम्मेदवार चयनको मापदण्ड सार्वजनिक गरेको छैन।

राष्ट्रियसभाको रिक्त हुन लागेको १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। यसका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

पुष २१, २०८० शनिबार ११:३६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।