पशुपति आर्यघाट क्षेत्रको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न नपाइने भन्ने सूचनाप्रति हाम्रो संलग्नता छैन : पशुपति क्षेत्र विकास कोष

पशुपति आर्यघाट क्षेत्रको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न नपाइने भन्ने सूचनाप्रति हाम्रो संलग्नता छैन : पशुपति क्षेत्र विकास कोष

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशयसहित जारी भएको सूचनामा कोषको नाम र लोगो दुरुपयोग भएको बताएको छ।

भिडियो खिच्न र सामाजिक सञ्जालमा राख्न नहुने भन्दै जारी गरिएको सूचनाप्रति आफूहरूको संलग्नता नभएको जिकिर गर्दै कोषले बुढासुब्बा डिजिटल प्रालिलाई उधृत गर्दै कोषको ध्यानाकर्षण भएको बताएको छ।

यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राखेर व्यापारिक प्रयोजनका लागि भिडियो खिच्न नपाइने भनेको थियो।

‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं।’

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पूजा, ब्रतबन्ध लगायत व्यक्तिगत कार्यक्रममा आउँदा मेमोरीका लागि फोटो/भिडियो खिच्न पाइए पनि व्यावसायिक उत्पादन र प्रसारण भने गर्न नपाइने बताएका थिए। मन्दिरभित्रै प्रवेश गरी भिडिओहरू पनि खिचिएको र त्यसलाई हटाउन नसकेको हुनाले पनि यस्तो निर्णय गर्नुपरेको उनको भनाइ थियो।

‘लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ,’ सूचनामा भनिएको छ, ‘उक्त सूचना प्रकाशित प्रति कोषको कुनै पनि संलग्नता नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ।’

२१ पुस, २०८०, ११:२५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।