‘तिमी छौ र त’को दस लाख भ्युज कटेको उपलक्ष्यमा यश कुमारको सक्सेस पार्टी

‘तिमी छौ र त’को दस लाख भ्युज कटेको उपलक्ष्यमा यश कुमारको सक्सेस पार्टी

 

काठमाडौं : नेपालमा डिजिटल प्लेटफर्म युटुबको दर्शक हेरेर हिट र फ्लपको तुलना गरिन्छ। सामान्यतः एक करोड भ्युज पुगेको खण्डमा केक काटेर सेलिब्रेसन गर्ने चलन मौलाएर गएको देखिन्छ।

तर, गायक यश कुमारले आफ्नो नयाँ म्युजिक फिल्म ‘तिमी छौ र त’को भिडियो दस लाख भ्युज कटेको उपलक्ष्यमा नै सक्सेस पार्टी दिएका छन्।

हिजो उनले अनामनगरस्थित बार्दली क्याफेमा म्युजिकल फिल्मलाई भिडियो १० लाख पटक हेरिएको भन्दै सञ्चारकर्मीमाझ खुसी साटेको हुन्।

यो समाचार तयार पार्दा सम्म उक्त भिडियोलाई १३ लाख ४० हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् भने ८७ हजारले लाइक गरेका छन्। भिडियोमा ५ हजार भन्दा बढीले कमेन्ट गरेका छन्। जहाँ अधिकांशले म्युजिकल फिल्मलाई मन पराएको टिप्पणी गरेका छन्।

तीन दिन अघि यश कुमारकै युटुयूब च्यानलमा ‘तिमी छौ र त’को भिडियो रिलिज गरिएको थियो। छोटो समयमा दर्शकले अत्यधिक रुचाएको भन्दै उनले सञ्चारकर्मीमाझ खुसी साटेको बताए।

‘तिमी छौ र त’गीतको भिडियोमा उनले लिम्बू समुदायको केटी र बाहुन समुदायको केटा बीचको जातीय विभेदलाई पस्किएका छन्। भिडियोको एउटा अंशबारे आलोचना भएपछि उनले उक्त दृश्य सम्पादन गरेका थिए।

यश कुमारकै शब्द, संगीत र स्वर रहेको म्युजिकल फिल्ममा उनी आफैले अभिनय गरेका छन्।

यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन्। भिडियोको निर्देशन विज्ञान राईले गरेका छन्। यस अघि यश कुमारले ‘सुस्तरी सुस्तारी’बोलको गीत रिलिज गरेका थिए।

पुष २१, २०८० शनिबार १०:५८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।