त्रिवि उपकुलपतिको सूचना सच्याउन प्रधानमन्त्रीको निर्देशन

त्रिवि उपकुलपतिको सूचना सच्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनका लागि प्रधानमन्त्रीको प्रतिवद्धताविपरित सूचना जारी भएसँगै आलोचना भएपछि प्रधानमन्त्रीले सूचना सच्याउन निर्देशन दिएका छन्।

विश्वविद्यालयको पदाधिकारीमा तीन वर्ष काम गरेको सर्तसहित सूचना जारी भएपछि आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्व पदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

विश्वविद्यालयको कुलपतिसमेत रहेका ‘प्रचण्ड’ले यस अगाडि क्षमताको आधारमा नेपाल र नेपाल बाहिर नेपालीमध्येबाट उपकुलपति छनौट गरिने बताएका थिए। तर शुक्रवार सार्वजनिक भएको सूचनामा निश्चित व्यक्तिले मात्र आवेदन दिन पाउने मापदण्ड राखिएको थियो।

आलोचना बढेसँगै शुक्रवार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीले कार्यकक्षमा बोलाएर विज्ञापन सच्चाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभर रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको तर शुक्रवार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ।

पुष २०, २०८० शुक्रबार १८:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।