१९ वर्षमुनिको विश्वकप खेल्ने नेपाली टोली घोषणा

१९ वर्षमुनिको विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले दक्षिण अफ्रिकामा यसै महिनादेखि हुने आईसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ।

क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोली घोषणा गरिएको हो।

एसिया कप खेलेको टोलीमा रहेका तीब्र गतिका बलर हेमन्त धामी चोटका कारण यसपटक टोलीमा छैनन्। उनको स्थान अर्का तीब्र बलर दुर्गेश गुप्ताले लिने छन्।

यस्तै अल राउन्डर दीपक बोहोरा पनि टोलीमा थपिएका छन्। जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ।

नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन्। नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्नेछ।

यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग रहँदा समूहको अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा रहेको छ।

त्यसअघि नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेस्ट इन्डिज विरुद्ध वार्म-अप खेलहरू खेल्ने छ।

नेपाली यु १९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

पुष २०, २०८० शुक्रबार ०७:३९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।