दलहरूलाई पूर्वराजा शाहले भने- ‘हामी मात्र ठिक अरू बेठीक भन्ने विचारबाट माथि उठ्न जरुरी छ।’

दलहरूलाई पूर्वराजा शाहले भने- ‘हामी मात्र ठिक अरू बेठीक भन्ने विचारबाट माथि उठ्न जरुरी छ।’
फाइल फोटो

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकको आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको बताएका छन्।

भैरहवामा आज नागरिक अभिनन्दन ग्रहण गर्दै शाहले देशमा बेरोजगारी, गरिवी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन बाध्य भएको बताए।

राजनीतिक दलहरूप्रति संकेत गर्दै उनले भने, ‘हामी मात्र ठिक अरू बेठीक, हाम्रो बाटो मात्र सुबाटो अरूको कुबाटो भन्ने विचारबाट माथि उठ्न जरुरी छ।’

उनले बुद्ध भूमि सगरमाथाको देश, सुन्दर, अति मनोरम, यतिका सम्पदा, कतिकति मूल्य मान्यता र सभ्यता भएर कताकता हराइरहेको बताए।

‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदा-सदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले भने।

उनले समाज कानुन र व्यवस्थाबिना देश अस्तित्वमा रहन नहुने बताउँदै देश सुहाउँदो, बलियो अभिष्टहरूमार्फत् अगाडि बढ्नुपर्ने बताए।

पुष १९, २०८० बिहीबार १८:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।