यो सानो संघर्षले बनेको गठबन्धन होइन, एमालेसँगको निकटताले भत्किदैन : प्रधानमन्त्री

यो सानो संघर्षले बनेको गठबन्धन होइन, एमालेसँगको निकटताले भत्किदैन : प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई एमालेसँगको निकटताले कुनै असर नपर्ने बताएका छन्।

आज रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन पूरै समय टिक्ने दाबी गरे।

एमालेसँगको निकटतामा कुनै पनि स्वार्थ नरहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले सदन सुचारु गर्न, विधेयकहरू अघि बढाउन, शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन सहज होस् भन्ने उद्देश्यले प्रतिपक्षीलाई पनि समेटेर अघि बढ्न खोजिएको बताए।

‘गठबन्धन के होला भनेर सोच्नै पर्दैन, यो सानो दुःख, सानो संघर्षले बनेको गठबन्धन होइन। यो पूरै अवधि जान्छ। यसमा कुनै आशंका गर्नु जरुरी छैन।’ राष्ट्रियसभा निर्वाचनमा एमालेलाई केही सिट दिन खोजिएको तर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सदन सुचारु गर्न, शान्ति प्रक्रियाका काम सहज रुपले अगाडि बढाउन सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी होस् भन्ने कुरा सुरु देखि नै हामीले चाहेका छौँ।’

त्यसैकारण प्रतिपक्षमा भएको राजनीतिक दललाई लेखा समितिमात्र दिने परम्परा तोड्दै लेखासहित ३ वटा समितिको सभापति एमालेलाई दिएको उनले बताए।

‘यसको अर्थ गठबन्धनमा कुनै आँच पुर्याउने उद्देश्यले होइन र हुन पनि सक्दैन ।’ उनले थपे।

१९ पुस, २०८०, १८:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।