‘बेहुली फ्रम मेघौली’बाट निर्मात्री बन्दै स्वस्तिमा

‘बेहुली फ्रम मेघौली’बाट निर्मात्री बन्दै स्वस्तिमा

काठमाडौं : नेपाली फिल्मका अभिनेत्रीहरू अभिनयमा मात्र सीमित रहन चाहँदैनन्। उनीहरू आफूलाई निर्माताका रुपमा समेत चिनाउन चाहन्छन्।

अभिनेत्री रेखा थापा, पूजा शर्मा, श्वेता खड्का, अदिती बुढाथोकीपछि निर्मात्रीका रुपमा अभिनेत्री स्वस्तिमा खड्का पनि थपिने भएकी छन्।

उनी आगामी फागुनबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निर्मात्री बन्न लागेकी हुन्। उनी अभिनेत्रीबाट निर्मात्रीका रुपमा समेत परिचय थप्ने भएकी छन्।

फिल्मको छायांकनका लागि लोकेसन हेर्न यतिबेला स्वस्तिमाको टिम चितवन पुगेको छ।

अभिनेत्री खड्काका अनुसार फिल्मको कथा सामाजिक विषयवस्तुमा बन्ने हुनाले लोकेसनका लागि चितवन पुगिएको हो।

यो फिल्मका लागि मुख्य कलाकार समेत फाइनल भइसकेका छन्। फिल्ममा निर्मात्री स्वस्तिमा आफै अभिनय गर्दैछिन्। स्वस्तिमाका अलावा फिल्ममा आफ्नै श्रीमान निश्चल बस्नेत र विजय बरालले पनि अभिनय गर्ने पक्का भइसकेको छ।

अन्य कलाकारको छनोट गर्ने पनि छिट्टै टुङ्गो लगाउने निर्माण पक्षको भनाई छ। फिल्मलाई ‘दिमाग खराब’ का लेखक आकाश बरालले निर्देशन गर्दैछन्। उनी यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

निश्चलको ब्यानर ब्ल्याक हर्स पिक्चर्सले फिल्मलाई निर्माण गर्न लागेको हो। यसअघि निश्चल र स्वस्तिमाले फिल्म ‘दिमाग खराब’, ‘घामड शेरे’ लगायतमा सँगै अभिनय गरेका थिए।

पुष १९, २०८० बिहीबार १७:११:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।