राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं : भारतीय विदेशमन्त्री डा. एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्षकमल दाहालसँग शिष्टाचार भेट गरेका छन्।

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विशेष विमानमार्फत काठमाडौं आएका उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालसँग केहीबेरअघि शिष्टाचार भेट गरेका हुन्।

भेटमा द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको विषयमा कुराकानी भएको छलफलमा सहभागी परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले जानकारी दिइन्।

विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए।

उनले आजै १ बजे होटल याक एण्ड यतिमा परराष्ट्र मन्त्रीसँग भेटवार्ता गर्दैछन्। त्यसलगत्तै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

बैठकपछि दिउँसो १:४५ बजे माइन्युट-एमओयु र विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ। दिउँसो २ बजे उनी याक एण्ड यति होटलमै आयोजित दिवा भोजमा सहभागी हुने जयशंकरको कार्यक्रम छ।

३:४० मा उनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता हुनेछ।

साँझ सवा ६ बजे परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन्।

शुक्रबार बिहान ८ बजे उनी पशुपतिनाथ पुग्ने उनी ९ बजे त्रिवि पुस्तकालय तथा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्नेछन्।

उनी शुक्रबार नै भारत फर्किने कार्यतालिका छ।

पुष १९, २०८० बिहीबार १२:३९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।