अमेरिकाको मस्जिद बाहिर धर्मगुरुको गोली हानी हत्या

एजेन्सी : अमेरिकाको न्यु जर्सीस्थित नेवार्क मस्जिद बाहिर एक इस्लाम धर्मगुरुको गोली हानी हत्या गरिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यस आक्रमणको मनसाय अहिलेसम्म खुल्न सकेको छैन।
अहिलेसम्मको अनुसन्धानमा धर्मगुरु हसन सरिफमाथि पूर्वाग्रहबाट प्रेरित भएर वा आतंकवादको कोणबाट गोली प्रहार भएको संकेत नदेखिएको न्यु जर्सीका महान्यायाधिवक्ता म्याथ्यू प्लाटकिनले बताए।
बुधबार एक पत्रकार सम्मेलनमा एसेक्स काउन्टीका वकिल थिओडोर स्टेफन्सले सरिफलाई मस्जिदबाहिर आफ्नो कारमा रहेका बेला बिहान ६ बजेतिर धेरैपटक गोली हानिएको थियो।
घाइते सरिफलाई अस्पताल लगिएकोमा दिउँसो मृत घोषणा गरिएको थियो। न्यु जर्सीका धेरै मानिसहरू आजकल डरमा बाँचिरहेका महान्यायाधिवक्ता प्लाटकिनले बताए।
अक्टोबर ७ मा इजरायलमा हमासको हमला र त्यसपछि इजरायलको कारबाहीपछि अमेरिकामा पनि इस्लामोफोबिकका घटना बढेको रोयटर्सले लेखेको छ।
जसका कारण अमेरिकी सुरक्षा विभागले विभिन्न धर्म मान्ने मानिसहरूलाई सतर्क रहन आग्रह गरेको थियो।
पुष १९, २०८० बिहीबार १०:००:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।