कासिम सुलेमानीको समाधिस्थलमा भएको बम विस्फोटमा १०३ जनाको मृत्यु, इरानमा आज राष्ट्रिय शोक

कासिम सुलेमानीको समाधिस्थलमा भएको बम विस्फोटमा १०३ जनाको मृत्यु, इरानमा आज राष्ट्रिय शोक

एजेन्सी : इरानको रिभोलुसनरी गार्डका जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षको समारोहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुगेको छ। १४१ जना घाइते भएका छन्।

इरानले केरमान प्रान्तमा भएका यी विष्फोटहरूलाई ‘आतंकवादी हमला’ भनेको छ। यी विस्फोटहरू केरमानमा कासिम सुलेमानीको मृत्युको चौथो वर्षगाँठको कार्यक्रममा भएको थियो।

कासिम सुलेमानी जनवरी ३, २०२० मा इराकको राजधानी बगदादमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए। ७ जनवरी, २०२० मा ५६ जनाको मृत्यु भएको थियो। भीडका कारण उनीहरूको अन्येष्टि स्थगित गरिएको थियो।

इरानका सबैभन्दा शक्तिशाली एवं सर्वोच्च धार्मिक नेता अयातोल्लाह अली खामेनी पछि जनरल कासिम सुलेमानीलाई दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ।

इरानको समाचार एजेन्सी इरनाले केरमान विष्फोटपछि बिहीबार देशमा राष्ट्रिय शोकको घोषणा गरेको छ। साथै केरमान प्रान्तमा तीन दिने शोक मनाइने भएको छ।

इरानी समाचार अनुसार इरानी संसदको राष्ट्रिय सुरक्षा आयोग र विदेश नीति समितिले यस हमलाको सबै पक्षको छानबिन गर्न केरमान प्रान्तमा एउटा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

विस्फोटपछि मानिसहरूलाई मद्दत गर्न खोजिरहेका तीन प्रहरीको पनि मृत्यु भएको प्रहरी प्रवक्ताले बताएका छन्। यसैबीच, केही अन्य सञ्चारमाध्यमलाई उद्धृत गर्दै इरनाले आक्रमणमा चार प्रहरीको ज्यान गएको लेखेको छ।

केरमान मेडिकल इमर्जेन्सी सेन्टरका प्रमुख शाहब सालेहीले दुईवटा बम विष्फोट भएको बताएका छन्। केरमानका मेयर सईद शेरबाफले दुवै विस्फोट १० मिनेटको अन्तरमा भएको थियो।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार दुईवटा झोलामा राखेका बमहरू टाढाबाटै विस्फोट गराइएको थियो।

पुष १९, २०८० बिहीबार ०९:२२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।