नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, भारतीय विदेशमन्त्री नेपाल आउँदै

नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, भारतीय विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको बैठक बिहीबार बस्दैछ।

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्दा भारतको नेतृत्व समकक्षी डा. सुब्रह्मण्यम जयशंकरले गर्नेछन्।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर बिहीबार विहान काठमाडौं अवतरण गर्दैछन्। उनलाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गर्नेछिन्।

आफ्नो भ्रमणका क्रममा भारतका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दैछन्।

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल भ्रमणमा रहेका समकक्षी जयशंकर तथा उनको प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको समेत आयोजना गरेका छन्।

भारतका विदेशमन्त्री जयशंकर शुक्रबार दिल्ली फर्कने कार्यक्रम छ।

नेपाल–भारत संयुक्त आयोग दुई देशबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। संयुक्त आयोगको बैठकमा नेपाल–भारत बीचका सम्पूर्ण आयामहरूमा छलफल गरिन्छ। 

सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँदिल्लीमा सन् २०२१ जनवरीको दोस्रो साता भएको थियो। संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने गरिएको छ।

पुष १९, २०८० बिहीबार ०७:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।