सूर्यदर्शन सहकारी ठगीमा जोडिएका युवा संघका नेता थुनामा गए
पोखरा : सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रहेको बचतकर्ताहरूको रकम हिनामिनाको अभियुक्त शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा पुगेका छन्। जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासले गुरुङ र अर्याललाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
प्रहरीले गत भदौ २४ गते उनीहरूसहितलाई पक्राउ पुर्जी जारी गरेपछि जीवी राईसहित उनीहरू फरार भएका थिए। महेन्द्र एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपमहासचिव हुन्। महेन्द्रमाथि सहकारीको सञ्चालक समिति सदस्य तथा लेखा समितिमा बसेर बचत रकम दुरुपयोग गरेका अभियोग छ।
जिल्ला अदालतमा दर्ता भएको मुद्दामा जिवीसहितको समूहले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ।सहकारीका तत्कालीन अध्यक्ष गितेन्द्र बाबु (जीवी), महेन्द्र लगायत १९ जनाको प्रतिवादी बनेकोमा पहिला कोषाध्यक्ष रहेका कुमार रम्तेल मात्र पक्राउ परेका थिए।
पुष १८, २०८० बुधबार २२:२०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।